सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो । परिमार्जन गरिएको निर्णयअनुसार आजदेखि १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको छ । त्यस्तै मदिरा, सुर्तीजन्य वस्तुमा पनि कच्चा पदार्थबाहेक रोक लागेको छ । यस्तै ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका खेलौना, तासको आयातमा रोक लागेको छ ।