हेटाैंडा – सरकारी स्वामित्वकाे हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिमेन्ट उद्योगको अध्यक्ष पदमा नियुक्तिका लागि गत सोमबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।
अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले दरखास्त दिन पाउनेछन् । सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिन सूचनामा उल्लेख गरिएको छ । अध्यक्ष पदमा दरखास्त दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्यअनुभव हुनुपर्ने छ । नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने छ । इछुक व्यक्ति दरखास्त दिने अन्तिम मितिसम्म पैंतीस वर्ष पूरा भई पैंसठ्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
निवेदकले दरखास्तसाथ दुईप्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि, स्वःघोषणा फारम, व्यक्तिगत विवरण र अनुभव सम्बन्धमा सम्बन्धित निकायको प्रमाणित कागजातका प्रतिलिपि उम्मेदवार स्वयम्ले प्रमाणित गरी पेश गर्नुपर्नेछ । छनौट सूचीमा परेका उम्मेदवारहरु तोकिएको मितिमा अन्तरवार्ताका लागि उपस्थित हुनुपर्नेछ । उम्मेदवारले दरखास्त दस्तुरबापत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको राजस्व खातामा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा तीन हजार रुपैयाँ बुझाएको सक्कलै भौचर पेश गर्नुपर्नेछ ।

May be an image of text