मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्दै कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्नुहुँदै शर्माले १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउँन थालेयता यस दिवसलाई महत्व दिइएको जनाउनुभएको छ ।‘हामी विशेष महत्वका साथ यो दिवस मनाउँदै आइरहेका छौं । यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’शर्माले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।
शर्माले नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताउनुभएको छ । हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।