काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो । राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद जितेन्द्र नारायण देवले प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्रै नागरिकता विधेयक अगाडि बढाउन आग्रह गर्दै देशको अस्तित्व सङ्कटमा नपर्ने गरी नागरिकका सबै समस्या समाधान गर्न दलहरूसँग आग्रह गर्नुभयो ।
सांसद रामचन्द्र राईले सरकारले जनताप्रतिको उत्तरदायित्वबाट भाग्न नहुने भन्दै नेपालका घरेलु उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सांसदहरू सुरेश कुमार आले मगर, विना पोखरेल लगायतले मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै खेती गर्ने समयमा सडकमा आएर आन्दोलन गर्नुपर्ने किसानको बाध्यतालाई तत्काल सम्बोधन गर्न माग गर्नुभयो । सांसद राजेन्द्र लक्ष्मी गैरे, विमला राई पौडेल लगायतले विवाहको उमेर २० वर्षबाट घटाउन नहुने भन्दै महिला आन्दोलनबाट प्राप्त गरेको उपलब्धि रक्षा गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाको बैठक जारी छ ।