एक अध्ययनले अझै पनि ६४ प्रतिशतभन्दा धेरै उद्योगमा जेनेरेटर प्रयोग यथावत् रहेको देखाएको छ । सरकारले उद्योगलाई पनि पर्याप्त बिजुली दिएको दाबी गरे पनि नेपाल उद्योग परिसङ्घले गरेको अध्ययनअनुसार ६४ दशमलव ४ प्रतिशत उद्योगमा जेनेरेटर प्रयोगमा रहेको देखिएको हो । जेनेरेटरको प्रयोगले उद्योगको लागत प्रतिमहिना झन्डै ६ प्रतिशत बढेको पनि अध्ययनले जनाएको छ । यस्तै झ्याप्प–झ्याप्प बत्ती जाँदा पनि समस्या बढेको उद्योगीको गुनासो छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेदनले उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७ दशमलव १ प्रतिशतले बढेको देखाएको छ । प्रतिवेदनअनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ । अध्ययनमा सहभागी उद्योगीहरूले ९५ प्रतिशत कामदार नेपाली रहेको उल्लेख गरेकोमा सबैभन्दा धेरै सेवा क्षेत्रमा ९७ प्रतिशत र कम उत्पादन क्षेत्रमा ९० प्रतिशत नेपाली कामदार रहेका छन् । अध्ययनमा सहभागीमध्ये ६५ दशमलव ५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । प्रतिवेदनमा बजेट निर्माण र कार्यान्वयन प्रक्रिया, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसङ्घले चालु आर्थिक वर्षको बजेटमा दिएका प्रमुख सुझावसमेत समावेश छन् । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले ‘थिङ्क ट्याङ्क’ को रूपमा कसरी काम गरिरहेको छ भन्ने यो प्रतिवेदनले पनि देखाएको बताउनुभयो । परिसङ्घले सुझावमात्रै दिने नभइ उद्योगको यथार्थ चित्रणसमेत यो प्रतिवेदनमार्फत प्रस्तुत गर्न खोजेको उहाँले उल्लेख गर्नुभयो ।