काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादलाई सहज ढङ्गले बुझ्न र बुझाउन जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाको समापन समारोहमा अध्यक्ष ओलीले नेपालमा समाजवाद भनेको सुखी नेपाली र समृद्ध नेपाल भएको बताउनुभयो ।

उहाँले जनप्रतिनिधिहरूले सही नीतिको कार्यान्वयन र प्रचार गर्नुपर्ने, देश बनाउनका लागि पार्टीको आवश्यकता भएको भन्दै विकासका उद्देश्य परिपूर्ति गर्नका लागि काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । उहाँले, जनप्रतिनिधिहरू अनुशासित बन्दै जनताको सेवामा लाग्नुपर्ने उल्लेख गर्नुभयो । नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव समेत पारित गरेको छ ।










