मकवानपुर – हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली विजय युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबार बिहान भएको खेलमा बाराको नव जनजागृती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकाे हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा विजय युथले तीन गोल गर्दै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । विजय युथलाई सहज जित दिलाउन अमिर श्रेष्ठ, सञ्जोक राई र सुनिल घलानले एक–एक गोल गरेका थिए । उत्कृष्ट खेल प्रर्दशन गर्दै विजय युथका सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे । अब फाइनल प्रवेशको लागि विजय युथले विभागिय टोली नेपाल पुलिस क्बलसंग प्रतिष्पर्धा गर्ने छ ।
नव जनजागृती क्लबले यसअघि बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाईलनमा विजय युथसंगको भेट पक्का गरेको थियो । भने, घरेलु टोली विजय युथ सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो । प्रतियोगिता अन्तरगत आज दिउँसो ४ बजे अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र चर्चव्वाईज क्लब काठमाण्डौबीच खेल हुँदै छ ।
मकवानपुरको १० पालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।