मकवानपुर – बागमती प्रदेशको प्रदेश युवा परिषद्ले बुधबार पहिलो स्थापना दिवस मनाएको छ । प्रदेश युवा परिषद् स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार शुभकामना आदानप्रदान, अन्तरक्रिया, रक्तदान तथा हेटौंडा अस्पतालमा विरामीलाई फलफूल वितरण गरेर पहिलो स्थापना दिवश मनाएको हो ।
अन्तरकृया कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रत्येक स्थानीय तहमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने बताउनुभयो । अब युवा परिषद्ले तालिम दिदा रोजगारीको ग्यारेन्टीका साथ मात्र दिने उहाँले बताउनुभयो । युवाहरुलाई उत्पादन, रोजगारी र व्यावसायमा लैजान समेत उहाँले सुझाव दिनु भएको छ । कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने जानकारी गराउनुभयो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईको सभाअध्यक्षतामा भएको कार्यक्रमा बागमती प्रदेशका पूर्ब मन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा, बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिब धुर्ब गैडा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीन, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, लगाएतले युवाहरुले आफ्ना हक अधिकार प्राप्तीसंगै युवाहरु स्वरोजगारका क्षेत्रमा लाग्नु पर्ने बताउनु भएको थियो । प्रदेश युवा परिषद्को प्रथम स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।