प्रतिनिधिसभामा सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्याहरू समाधान गर्न पुनः एक पटक राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गर्ने मतदातालाई धन्यवाद दिनुहुँदै संविधान मिच्न चाहनेहरूलाई निर्वाचनले बलियो सन्देश दिएको बताउनुभयो ।
छलफलमा भाग लिनुहुँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद विष्णु पौडेलले विकास आयोजनाहरूमा सरकारको नीति तथा कार्यक्रम पूर्वाग्रही भएको टिप्पणी गर्नुभयो ।बैठकमा सत्तापक्ष नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले कृषिमा उत्पादकत्व बढ्ने गरी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको र सोही अनुसारको बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता सम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्ने उल्लेख गर्नुहुँदै सङ्घीय निजामती विधेयक सङ्घीय संसदबाट पारित गरेर कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । अध्यक्ष यादवले विकासलाई सन्तुलित तवरले अगाडि बढाउने गरी कार्यक्रम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन असाध्यै महँगो भएकाले यसमा सुधार गर्नुपर्ने र रामराजाप्रसाद सिंह मेडिकल कलेज स्थापना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । छलफलमा भाग लिनुहुँदै सांसदहरू पुष्पा भुसाल, गिरिराजमणि पोखरेल, कल्याणी कुमारी खड्का, गजेन्द्र महत, पुष्पाकुमारी कर्ण कायस्थ र आशाकुमारी विकले सरकारको नीति तथा कार्यक्रममा समेटिएका सकारात्मक पाटाका बारेमा आ–आफ्नो मत राख्नुभयो ।