नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तीस वर्षमा ८० बालीका ७ सय २३ वटा जात विकास गरेको छ । ती जात विकाससँगै किसानलाई प्रयोगका लागि सिफारिस भएका छन् । यसका साथै विभिन्न बालीवस्तुका उत्पादन तथा व्यवस्थापन प्रविधिहरु पनि सिफारिस गरिएको नार्कले जनाएको छ । यी प्रविधिले उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुगेको नार्कका कार्यकारी निर्देशक डा.दीपक भण्डारीले बताउनुभयो । स्थानीय हावापानी, भूगोल, माटो र आर्थिक अवस्थामा आधारित उन्नत प्रविधिको प्रयोगले कृषिको दिगो विकास सम्भव रहेको र यसका लागि निरन्तर अनुसन्धान आवश्यक पर्ने उहाँको भनाइ छ ।
नयाँ प्रविधिको माग पनि बढ्दो छ । जलवायु परिर्वतनका कारण कृषि क्षेत्रमा देखा परेको र पर्नसक्ने असरलाई न्यूनीकरण गर्न ध्यान केन्द्रित गरेको नार्कले जनाएको छ । अनुसन्धानबाट विकसित सफल प्रविधि एकीकृत रुपमा खेतबारीमा पुर्याउन नार्कले प्रविधि गाउँ कार्यक्रमको सुरुवात समेत गरेको छ । सन् २०३० सम्ममा भोकमरी शून्य बनाउने तथा संविधानले उल्लेख गरेको सबैका लागि खाद्य अधिकारलाई सुनिश्चित गर्न कृषि उत्पादन र उत्पादकत्वलाई बढाउन आवश्यक रहेको कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो । त्यसका लागि हाइब्रिड जातको प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले ५० प्रतिशत हाइब्रिड जात, ३०/४० प्रतिशत विकासे जात र १० प्रतिशत रैथाने जातको प्रयोग गर्न सकिने पनि बताउनुभयो । २०४८ सालमा स्थापना भएको नार्कले आज ३१औँ वार्षिक उत्सव मनाउँदैछ ।