मकवानपुर- जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले करमैत्री वातावरण निर्माण गर्न सबैले सहकार्य गर्नुपर्ने बताउनुभएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडाले आईतबार हेटौंडामा आयोजना गरेको आठौं राष्ट्रिय कर दिवश–२०७६ तथा कर सप्ताह समुदघाटन कार्यक्रममा उहाँले राष्ट्रको विकासकालागि करमैत्री वतावरण निर्माण हुनुपर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले देशमा राजनैतिक स्थाईत्व आईसकेको तथा सुखि नेपाली, समृद्ध नेपालको परिकल्पनाका साथ सरकार अगाडी बढेकाले देशको प्रमुख आय स्रोत आन्तरिक राजस्व संकलन भएकाले कर लिने र दिने बिच सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभएको छ । कर, करले होइन रहरले तिर्ने वातावरण निर्माण हुनु पर्नेमा प्रमुख खुलालले जोड दिनुभयो । मुलुक नयाँ संरचनामा प्रवेश गरेकाले हरेक स्थानमा केहि कमि कमजोरी देखिएको भन्दै उहाँले विकासका लागि भ्रष्टाचारी तथा घूसखोरीलाई कडा सजाय हुनुपर्ने र कर करले होइन रहरले तिर्नुपर्छ भन्ने सचेतना फैलाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा ३ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव मुकुन्द पौडेलले सरकारले जनताबाट संकलन भएका करको सहि सदुपयोग भएको छ भन्ने विश्वास दिलाउन सक्नु पर्ने बताउनुभयो । यसकालागि सरकारले तल्लो तह सम्म जनतालाई सुसुचित र सुविधा प्रदान गर्न सक्ने वातावरण बन्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले दिगो र प्रभावकारी कर ऐन नहुँदा राजस्व संकलनमा समस्या रहेको बताउनुभएको छ । कर प्रणलीको सुधारमा सरकार लागेको भन्दै उहाँले कर दाता ईमान्दार र कर प्रशासनमा सुधार हुनु पर्नेमा जोड दिनुभयो । अहिलेको कर प्रशासन कर मैत्री भएको बताउँदै प्रमुख ढकालले यसमा अझै सुधारको खाँचो रहेको बताउनुभएको छ । सहभागि अन्य वक्ताहरुले समृद्धिको सपना साकार पार्न सरकारलाई कर तिर्ने कुरामा कसैले कन्जुस्याई नगर्ने तर जनताले प्रत्याभुति हुने गरि सेवा सुविधा पाउनु पर्नेमा सरकार प्रतिवद्ध हुनु पर्ने बताएका छन् । एक हप्ता सम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, उद्योगी व्यावसायी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता थियो ।

५ अर्व ८२ करोड संकलन गर्ने लक्ष्य

आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षमा ५ अर्व ८२ करोड ६१ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले नेपालको कुल अनुमानित बजेटक मध्ये ९ खर्ब ८१ अर्व १३ करोड ८३ लाख आन्तरिक राजस्वको हिस्सा भएको बताउनुभयो ।
हेटौंडा कार्यालयले चालु आर्थिक वर्षमा ५ अर्व ८२ करोड ६१ लाख संकलन गर्नुपर्ने र चालु आर्थिक वर्षको पहिलो चौमासिक कार्तिक मसान्त सम्म १ अर्व ५२ करोड ६९ लाख संकलन भईसकेको प्रमुख ढकालले बताउनुभएको छ । त्यस्तै हाल सम्म हेटौंडा कार्यालयमा ३१ हजार ५ सय ९३ वटा करदता रजिस्टर भएको तथा ३१ हजार ४ सय ९७ वटा करदाताहरु चालु अवस्थामा रहेको जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आर्थिक वर्षमा ३ अर्व ९८ करोडको लक्ष्य लिएकोमा ४ अर्व २८ करोड रुप्ैयाँ राजस्व संकलन गरेको प्रमुख ढकालले जानकारी दिनुभयो ।