हेटौंडा – बिहीबार बिहान साढे ९ बजे भेटघाटको समय दिएकी हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा साढे ११ बजे मात्रै आफ्नो कार्यकक्षमा आइपुगिन् । ढिला हुनुको कारण थियो स्थानीय तहको चुनाव । कार्यालय आउनुअघि तीनवटा चुनावी कार्यक्रम सकेर आएको लामाले सुनाइन् । लामालाई मात्र होइन, मकवानपुरमा सबै दलका नेतालाई चुनाव लागेको छ । वाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौंडा नगरीमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
दलहरु उम्मेदवार टुंग्याउने ध्याउन्नमा छन् । एमालेले उपहानगरका १९ वडासहित जिल्लाभरका सबै वडाध्यक्ष र सस्यका उम्मेदवार टुंग्याउँदैछ । सत्तारुढ गठबन्धन आवद्ध दलहरु भने वडातहसम्मै चुनावी गठबन्धनको तयारीमा छन् । एकपटक संयुक्त बैठक गरिरहेका दलहरु अहिले आ-आफ्नो शक्ति केलाउँदैछन्, जसले गठबन्धनभित्र भागबण्डाको आधार तय गर्ने नेताहरू बताउँछन् ।
एमालेमा उम्मेदवारको हानाथाप
पुरानो नगरमध्ये एक हेटौंडामा एमालेले लामो समयदेखि नेतृत्व गर्दै आएको छ । २०७४ मा एमालेले १२ वडासहित प्रमुख र उपप्रमुख दुवै जितेको थियो । त्यसबेला नेपाली कांग्रेस र माओवादी मिल्दा पनि विजयी बनेको एमाले पार्टी फुटका बावजुत पनि हौसिएकै छ । उसले यसपटक पनि आफूले नै जित्ने दाबी गरिरहेको छ । ‘गठबन्धनको प्रतिष्पर्धामा हामी २०७४ मा पनि खरो उत्रिएकै हौं,’ एमालेको मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ भन्छन्, ‘अघिल्लो पटक पनि गठबन्धनलाई जितेकाले कुनै नौलो लागेको छैन । यो पटक पनि जनमतका आधारमा परास्त गर्छौं ।’
एमाले पार्टीभित्र फेरि पनि जितिने आँकलन भएकै कारण होला, उपमहानगर प्रमुखको उम्मेदवार बन्न हानथाप । प्रमुख पदका लागि चारजना नेताले खुलेरै दावेदारी प्रस्तुत गरेका छन् । हालका उपमहानगर प्रमुख हरिबहादुर महत दोहोरिन चाहन्छन् । पाँच वर्षमा नगर प्रमुखका रुपमा आफूले राम्रो काम गरेकाले दोहोरिन चाहेको महतले अनलाइनखबरलाई बताए । एमाले प्रदेशसभा सदस्य समेत रहेका जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल पनि प्रमुखको दावेदार हुन् । ‘प्रमुखका लागि म सक्षम छु,’ उनी भन्छन्, ‘ठोस ढंगले उपमहानगरलाई हाँक्छु भन्ने विश्वासका साथ पार्टी समक्ष दाबी पेस गरेको छु ।’ अर्का दावेदार हुन, अनन्त पौडेल । उनी एमालेको वाग्मती प्रदेशको संगठन विभाग प्रमुख हुन् । पौडेल संविधानसभा सदस्य समेत हुन् । रामेश्वर रानाले पनि प्रमुखमा दाबी गरेका छन् । जिल्ला विकास समितिको सभापति भएर काम गरिसकेका राना मकवानपुर जिल्ला इन्चार्ज समेत हुन् । जिल्लाका हस्तीहरु नै प्रमुखको दावेदारीमा उत्रिएपछि एमालेलाई उम्मेदवार टुंग्याउन सकस छ । एमाले जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार छिट्टै सबै पालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरका प्रमुख, उपप्रमुखका उम्मेदवारको छनोट हुनेछ ।
सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने र नभए चुनावबाट टुंग्याउने उनको भनाइ छ । ‘हामी सकेसम्म सहमति, नभए चुनावबाट पनि टुंग्याउँछौं,’ श्रेष्ठले भने, ‘उपमहानगरमा दावेदारको संख्या धेरै छ, त्यो स्वभाविक पनि हो । त्यसलाई हामी एउटा विधि प्रक्रियाबाट टुंग्याउँछौं ।’ विधि र प्रक्रिया भनेको सर्वसम्मत हुन नसेको अवस्थामा पार्टीको आन्तरिक चुनावबाट उम्मेदवार टुंग्याउने हो । एमालेको हेटौंडा उपमहानगर कमिटीका सदस्यहरुले मतदान गरेर उम्मेदवार चयन गर्ने छन् । १०७ सदस्यीय नगर कमिटीमा बहुत ल्याउने नै एमालेको तर्फबाट उपमहानगर प्रमुखको उम्मेदवार बन्ने छ ।
आन्तरिक शक्ति जाँच्दै गठबन्धन
गठबन्धन भने आन्तरिक गृहकार्यमै छ । गठबन्धन आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी २०७४ को चुनावी परिणाम र हालको सांगठानिक अवस्थामा आधारित भएर आन्तरिक मुल्यांकनमा जुटेका छन् । त्यसपछि गठबन्धनभित्र दावेदारी प्रस्तुत गर्ने काम हुने देखिन्छ । ‘गठबन्धनको बैठक चलिरहेको छ,’ नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामा भन्छन्, ‘गठबन्धन आवद्ध दलहरुको सांगठनिक स्वरुप, २०७४ मा जितेको मतदाताको परिणामका आधारमा आ-आफ्ना पार्टीको मुल्यांकन हुँदैछ ।’
२०७४ को चुनावी परिणामलाई समेत आधार बनाएर गठबन्धनभित्र उपमहानगरको प्रमुख, उप्रमुख र वडाहरुको भागबण्डा हुनेछ । यद्यपि भागबण्डाको विधि तय भइनसकेको माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक सर्केस घलान बताउँछन् । ‘कुन-कुन विधिमा जान सकिन्छ भनेर छलफल चलिरहेको छ,’ उनले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी छ । संयन्त्रमै गएर नटुंग्याई बाहिर दाबी पेस गर्दा राम्रो हुँदैन ।’ तर गठबन्धन भित्रबाट उपमहानगर प्रमुखमा दाबी गर्नेहरु पनि खुलेका छन् । कांग्रेसबाट दुई जना आकांक्षी देखिएका छन् । आनन्दराम पराजुली र प्रभातकुमार दाहालले कांग्रेसबाट उपमहानगर प्रमुखमा दावेदारी पेश गरेका छन् ।
पराजुली कांग्रेसको पूर्व नगर सभापति हुन् भने हालै जिल्ला सभापतिका लागि भएको निर्वाचनमा दोस्रो भएका थिए । उनी २०७४ मा पनि कांग्रेसबाट उपमहानगरको मेयरका लागि लडेका थिए । दाहाल नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन् । माओवादीबाट ललित घलान र शंकर बानियाँले मेयर बन्ने इच्छा देखाएका छन् । माओवादीले उपमहानगरमा जितेका २ वडाध्यक्षमध्ये एक एमालेमा प्रवेश गरेपछि घलना माओवादी केन्द्रका एक मात्रै वडाध्यक्ष हुन् । उनी १२ नम्बर वडाका वडाध्यक्ष हुन् । त्यस्तै एकीकृत समाजवादीबाट हाल नगर उप्रमुख मिनाकुमारी लामा र जिल्ला अध्यक्ष श्रीधर पोखरेल दावेदार हुन् ।
एकीकृत समाजवादीलाई नेतृत्व !
गठबन्धनका दलहरुमध्ये शक्तिका हिसाबले नेपाली कांग्रेस नै उपमहानगर प्रमुखको स्वभाविक दावेदार मानिएको छ । किनभने २०७४ मै माओवादी केन्द्रले प्रमुखमा कांग्रेसलाई छाडिदिएर उप्रमुख आफूले लिएको थियो । एमाले उम्मेदवारसँग कांग्रेस उम्मेदवार जम्मा ६१५ मतले पराजित भएका थिए । एमालेका हरिबहादुर महतले २३ जार १२४ ल्याउँदा कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५९ मत पाएका थिए । वडातर्फ कांग्रेसले १९ मध्ये ५ वटा जितेको थियो भने माओवादी केन्द्रले २ वडा मात्रै जितेको थियो । एमालेबाट विभाजित भएर आएको एकीकृत समाजवादीका उपप्रमुख, १ वडाध्यक्ष र केही वडा सदस्य मात्रै छन् । यति हुँदाहुँदै पनि उपमहानगर प्रमुखको नेतृत्व गठबन्धनबाट एकीकृत समाजवादीले पाउने चर्चा नेताहरुले आनौपचारिक रुपमा गरिरहेका छन् ।
यसको दुई कारण छ । पहिलो- देशभर तालमेल गर्दा समाजवादीलाई हटौंडाको प्रमुख दिएर भागबण्डा मिलाउने सक्ने सम्भावना धेरै हुनु । दोस्रो- पौडेल र दाहालमध्ये कसलाई रोज्ने भन्ने कांग्रेसमा समस्या हुनु ।कांग्रेसका बाग्गती प्रदेश सभापति इन्द्र बानियाँ आफ्नो गृहनगरमा दाहाललाई नगर प्रमुखको उम्मेदवार अघि सार्न चाहन्छन् । तर, लोकप्रिय पोडैल छन् । उनको लोकप्रियतालाई बेवास्ता गरेर दाहाललाई अघि सार्न बनियाँलाई सहज छैन । आन्तरिक लडाइँ गर्नुभन्दा उपमहानगर प्रमुख पद एकीकृत समाजवादीलाई दिन कांग्रेस पनि तयार हुने एकथरिको अनुमान छ । यो अवस्थामा केन्द्रीय निर्णय लागू हुन्छ भन्नलाई कांग्रेस जिल्ला सभापतिलाई पनि सजिलो हुनेछ । अघिल्लो चुनाव अनुसार कांग्रेस नै स्वभाविक दावेदार भएपनि गठबन्धनको नीति अनुसार चल्दा के हुन्छ भन्ने नसकिने जिल्ला सभापति लामा बताउँछन् । ‘विगतको चुनाव हेर्ने हो भने कांग्रेसको एक मात्र दाबी हो,’ लामा भन्छन्, ‘हाम्रो यसमा चाहना पनि हो, इच्छा पनि हो । तर यो जिल्लाले चाहेर गठबन्धन भएको होइन, राष्ट्रिय राजनीति अनुसार भएको हो । त्यसैले राष्ट्रिय तहका नेताहरुले जे गर्नुहुन्छ, त्यही हुन्छ ।’
राप्रपा ‘फक्याक्टर’
सत्तारुढ गठबन्धन तालमेलको प्रयासमा छन्, एमालेसँग गर्विलो विगत छ । तर एमाले २०७४ मा जस्तो सिंगो छैन । विभाजित एमालेले चुनावको सामना गर्नुपर्ने छ । एमाले नेताहरुले विभाजनको असर न्यून रहेको दाबी गरेपनि उपप्रमुख र एक वडाध्यक्ष लगायत केही जनप्रतिनिधि एकीकृत समाजवादीतिर छन् । केन्द्र सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको गृहनगर पनि भएकाले पार्टी विभाजनको असर पर्ने देखिन्छ । त्यो अवस्थामा राप्रपा नेपाल निर्णायक फ्याक्टर बन्नसक्छ । २०७४ को चुनावमा राप्रपा उपमहानगरभित्र तेस्रो शक्ति थियो । प्रमुखमा मधु अधिकारीले ६ हजार ८५७ मत ल्याएका थिए ।
यद्यपि राप्रपा पनि फुटेको छ । हेटौंडाका कमल थापाले राप्रपाबाट अलग भएर राप्रपा नेपाल बनाएका छन् र हेटौंडा गृहनगर भएकाले उनको प्रभाव देखिन्छ । राप्रपा नेपालले अहिले देशभरमा एमालेसँग तालमेल गर्ने प्रयासमा छ । एमाले नेताहरु पनि राप्रपाले सघाउने सम्भावना रहेको बताउँछन् । थपिएको मत पनि यो चुनावमा अर्को फ्याक्टर हो । निर्वाचन आयोगका अनुसार हेटौंडा उपमहागरमा यसपटक २० हजार ८३४ मतदाता थपिएका छन् । अब उपमहानगरमा कुल मतदाता ८३ हजार ६३९ भएका छन् । थपिएको मत कता जान्छ केही भन्न सकिन्न । कांग्रेस जिल्ला सभापति लामा भने गठबन्धनले जित्ने दाबी गर्छन् । ‘गठबन्धन गरेर गयौं भने हाम्रो जित सुनिश्चित हुन्छ,’ उनी भन्छन्, ‘हिजो गठबन्धन गर्दा मत व्यवस्थित गर्न नसेकको कारण हामीले हारेका हौं । एमालेबाट फुटेको एकीकृत समाजवादीको मत पनि राम्रै आउने सम्भावना छ । थोरै भए पनि जनता समाजवादीको मत पनि जोडिन्छ ।’ अनलाइन खवरबाट साभार ।