नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा देखाएर मुद्रा आर्जन गर्ने पार्टी एमाले नभएको बताउनुभएको छ । वीरगन्ज महानगरपालिकाको प्रसौनीमा नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एमाले राष्ट्र, राष्ट्रियताको जगेर्ना गर्दै देश बनाउने पार्टी भएको दाबी गर्नुभयो ।
उहाँले तराई मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्न आफू प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएर वंशजका सन्ततिलाई नागरिकता दिने पहल गरेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन घोषणा भएसँगै एमालेमा जनताको भरोसा बढेको प्रमाणित लगातार भइरहेको पार्टी प्रवेशले देखाएको दाबी गर्नुभयो । सो अवसरमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीसहित महानगरपालिकाका ४ वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका थिए । नगर प्रमुख सरावगी २०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित हुनुभएको थियो । सरावगीलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर फूलमाला, टिकासहित पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख सरावगीले पार्टी अध्यक्ष ओली जस्तो सशक्त निर्णय गर्ने क्षमतावान् नेता अन्य कुनै राजनीतिक दलमा नभएको भन्दै आफू ओलीको व्यक्तित्वबाट प्रभावित भई नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटीका सदस्य प्रभु शाह, एमालेका पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा लगायतका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।