भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ ।आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।
१४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्‍याे । भारतका श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए । रविन्द्र जडेजा २२, दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए भने दुश्मन्था चामिरा र चामिका करुणारत्नेले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्‍याे ।
श्रीलंकाका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र चामिका करुनारत्नेले १२ रनको योगदान गरे । भारतका आभेस खानले २ विकेट लिए । त्यस्तै, मोहम्मद सिराज, हर्षल पटेल र रवि विश्रोईले १–१ विकेट लिए । तीन टि२० आई सिरिजको पहिलो खेलमा भारत ६२ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।