मकवानपुर- भारत सरकारको सहयोगमा निर्माण हुने सहमति भएता पनि दुई दशकसम्म निर्माण हुन नसकेकोे नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको आज शिलान्यास हुँदै छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज दिउसो महा विद्यालयको शिलान्यास गर्दैहुनुहुन्छ छ । महाबिद्यालय निर्माण गर्ने भएपनि त्यसक्षेत्रका रुख कटान नहुँदा बषौदेखि काम सुरु हुन सकेको थिएन । तर, अहिले रुख कटानको काम सकिएपछी महाविद्यालय निर्माण गर्ने बाटो खुलेको हो ।
विसं २०५४ मा हेटौँडा नगरपालिकाका तत्कालीन नगरप्रमुख डोरमणि पौडेलको पहलमा निर्माण प्रक्रिया प्रारम्भ भएको २२ वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको शुरुआती पहलकर्ता तत्कालीन नगरप्रमुख अर्थात् हालका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नै शिलान्यास गर्नुहुने भएको हो । महाविद्यालय निर्माणको प्रयास थालेको १२ वर्षपछि माधवकुमार नेपाल सरकारको पालामा विसं २०६६ फागुन ४ गते तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो तर पनि काम भने अगाडि बढ्न सकेको थिएन । सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालयको आज शिलान्यास गर्ने कार्यक्रम तय भएको हो ।
बहुप्रतिक्षित र देशको आवश्यकताको परिपूर्ति हुनेगरी निर्माण हुन लागेको तथा मुख्यमन्त्री पौडेलकै पहल र सक्रियतामा निर्माण हुन लागेकाले शिलान्यास कार्यक्रम विशेष हुने मुख्यमन्त्री पौडेललका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री डोरमणि पौडेल हेटौँडा नगरपालिकाको प्रमुख हुँदाको योजना २२ वर्षपछि पूरा हुने दिशातर्फ गएको हो । महाविद्यालयमा भारतीय अनुदानको ६४ करोड लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेलमैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा वर्कशपप्लेस, छात्रावास तथा आवासका लागि आवश्यक भवन निर्माण हुने जनाइएको छ । भारतीय निर्माण कम्पनी टिसिएनआइ र नेपालको आरोग्य कन्ट्रक्सन कम्पनीद्वारा संयुक्तरुपमा निर्माणकार्य अगाडि बढाइएको छ ।
हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २७ बिघा जमीनमा भवन निर्माण हुन लागेको हो । “हामीले त्यतिखेरै आवश्यक ठानेर निर्माणको योजना ल्याएका थियौँ, बीचमा निर्माणकार्य अगाडि बढेन, म कसैलाई दोशारोपण गर्दिनँ तर धेरै बाधा र अड्चनको सामना गर्दै महाविद्यालयको शिलान्यासको चरणमा प्रवेश गरेका छौँ, अब तीन वर्ष्भित्र महाविद्यालयको निर्माणकार्य सम्पन्न भएर कक्षा सञ्चालन हुन्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । महाविद्यालयको स्थापनापछि देशलाई आवश्यकपर्ने हरेक क्षेत्रका दक्ष जनशक्ति उत्पादन हुने हुँदा यहाँका विभिन्न क्षेत्रमा कार्यरत विदेशी प्राविधिकहरु विस्थापित भई स्वदेशी प्राविधिकले अवसर पाउने तथा कतिपय प्रतिष्ठानका अदक्ष कामदारलाई दक्ष जनशक्तिले विस्थापित गरी उत्पादन वृद्धि हुने उहाँको भनाइ छ ।
मुख्यमन्त्री पौडेलका अनुसार प्रदेश सरकारले लगानी गरेका कतिपय क्षेत्रमा प्राविधिक तथा दक्ष जनशक्ति अभावले समस्या पारेको छ । कतिपय निजी क्षेत्रसमेत दक्ष जनशक्ति अभावको सामना गरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका मध्ये अधिकांशले आवश्यक सीप सिकेका छैनन् । जसका कारण कम तलबमा काम गर्नुपरेको छ । प्राविधिक महाविद्यालयको स्थापनाले देशको दक्ष जनशक्ति अभावलाई धरै हदसम्म पूर्ति गर्नेछ । महाविद्यालयबाट एक शैक्षिक शत्रमा २ हजार प्राविधिक उत्पादन हुने छन् । महाविद्यालय निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएपछि भारतीय दूतावासले भवन निर्माणका लागि बोलपत्र आह्वान गरी सम्पूर्ण प्रक्रियासमेत सम्पन्न गरिसकेको छ ।