हेटौंडा – सरकारले स्थानीय तहको चुनाव एकै चरणमा अर्थात् २०७९ सालको वैशाख ३० गते गर्ने घोषणा गरिसकेको छ । निर्वाचनका लागि आवश्यक तयारीमा जुटिसकेको आयोगले दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने लगायतका काम भइरहेको छ ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन कार्य हाललाई स्थगित गरिएको छ । तर, १६ वर्ष पुगेर नागरिकता बनाएका प्रत्येक नागरिकको नाम मतदाता नामावलीमा प्रविष्ट भएकाले तीमध्ये १८ वर्ष पूरा भइसकेका सबैले यसपालि मतदान गर्न पाउने आयोगले जनाएको छ । वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले त्यसको भोलिपल्ट हुने चुनावमा मतदान गर्ने व्यवस्था मिलाइएको अर्यालले बताउनुभयो । त्यसरी मतदान गर्न योग्य अथवा मतदानको अवसर पाउनेहरूको सङ्ख्या दुई लाख हुने अनुमान रहेको उहाँले बताउनुभयो ।
सङ्घीय व्यवस्था तीन तहको सरकार भएपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए । आयोगले २०७७ पौष ५ गते गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार एक करोड ६२ लाख ४३ हजार ११० जना १८ वर्ष पुगेका मतदाता छन् । यसपालि अघिल्लो चुनावको तुलनामा ४० लाख बढी अर्थात् एक करोड ७९ लाख मतदाता हुने आयोगको अनुमान छ । “हामीले अद्यावधिक गरिरहेका छौँ । चैत १० गतेदेखि १५ गतेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछौँ,” आयोगका सहायक प्रवक्ता अर्यालले भन्नुभयो ।
कुल ७५३ स्थानीय तहमा हुने चुनावका लागि निर्वाचन आयोगले देशभरि १० हजार ७५६ वटा मतदान स्थल तोकेको छ । मतदानका लागि मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र देखाउनुपर्ने छ । तर, मतदाता परिचयपत्र हराएका वा नष्ट भएका कतिपयले चाहिँ चिन्ता व्यक्त गर्दै आएका छन् । सहायक प्रवक्ता अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । “यदि हराएको मतदाता परिचयपत्रको फोटोकपी छ भने त्यो लिएर अथवा छैन भने आयोगको वेबसाइटबाट आफ्नो परिचयपत्रको क्रम सङ्ख्या टिपेर वडा कार्यालयको सिफारिस लिई जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिन्छ,” सहायक प्रवक्ता अर्यालले भन्नुभयो । त्यसपछि जिल्ला कार्यालयले मुख्य कार्यालयलाई विवरण पठाउने र आयोगले नयाँ मतदाताका तथा हराएकाहरूको एकसाथ नामावली प्रकाशन गर्ने उहाँले बताउनुभयो ।
विद्यमान व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टा अगाडि मतदात केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ। “उहाँहरू पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाइएको हुन्छ,” अर्यालले भन्नुभयो । मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आफ्नो परिचयपत्र सजिलै लिन सक्ने उहाँले बताउनुभयो । स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ । बीबीसीकाे सहयाेगमा