मकवानपुर – हेटौंडा उपमहानगरपालिकाका ५१ विपन्न परिवारलाई चामल र ब्ल्यांकेट वितरण गरिएको छ । रुँगटा वेलफेयर सोसाइटी विरगन्जको सहयोगमा हेटौंडा–१६ हटियाका ५१ विपन्न परिवारलाई चामल र ब्लाङकेट हस्तान्तरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आज एक कार्यक्रमका बीच विपन्न परिवारलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । खान लाउन र जाडोमा न्यानो कपडा लाउन समेत समस्या भोग्दै आएका विपन्न परिवारका सदस्यहरु सहयोग प्राप्त गरेर खुसी भएका छन् ।
बिपन्न सार्की परिवारलाई घर हस्तान्तरण
यसैबीच हेटौंडा उपमहानगरपालिका–१८ भुलभुलेका अत्यन्त विपन्न लक्ष्मण सार्कीलाई दुइ कोठाको घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आज सार्कीलाई नवनिर्मित घरमा प्रवेश गराउनुभयो ।
वषौं देखि अत्यन्तै बिपन्न र हातमुख जोर्न समेत समस्या भोग्दै आएका सार्कीलाई घर हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो । पहुँचवाला र धनीलाई भन्दा पनि विपन्न र गरीबीको रेखा मुनी रहेकालाई पहुँचमा ल्याउन सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो । हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँको पहलमा स्थानीय नागरिकहरु र उपमहानगरपालिकाको सहयोगमा दुइ कोठे घर निर्माण गरेर सार्कीलाई हस्तान्तरण गरिएको हो ।