हेटौंडा – नेकपा एमाले मकवानपुरको निर्वाचन प्रक्रिया भोलि आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको भन्दै निर्वाचन प्रकृया स्थगित गरिएको हो ।
एमाले केन्द्रिय सदस्इ एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले निर्वाचन प्रक्रिया आइतबार बिहानसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बेलुकादेखि नै निर्वाचन प्रक्रिया सुरु भएको थियो । शुक्रबार अबेर रातीसम्ममा उम्मेदवारी दर्ता गरेर दावीविरोध, उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरी शनिबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
सहमतिको प्रयास गरिएको भन्दै निर्वाचन समितिले उम्मेदवारले नाम फिर्ता लिने समय लम्याउँदै आएको थियो । शनिबार दिउँसो ३ बजे निर्वाचन समितिले सहमतिकै लागि निर्वाचनको प्रक्रिया स्थागित गरिएको जानकारी गराएको छ । निर्वाचनको प्रक्रिया अगाडि नबढाएको भन्दै अधिवेशन प्रतिनिधिले भने नारावाजी गरेका छन् । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्षका लागि एकालाल श्रेष्ठ र बद्रिप्रसाद लम्सालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।