मकवानपुर – आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको दोस्रो प्रादेशिक अधिवेशन बुधवारबाट हेटौँडामा सुरु भएको छ । फोनिज बागमती प्रदेश समिति अध्यक्ष पेमा लामाको अध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मोक्तानले प्राप्त उपलब्धिलाई संस्थागत गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सञ्चार क्षेत्रप्रति हालको बागमती प्रदेश सरकार सकारात्मक रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । खानेपानी तथा उर्जामन्त्री वसन्त मानन्धरले सञ्चारमैत्री वातावरण निर्माणका लागि आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । त्यस्तै, भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री सन्तबहादुर चेपाङले सङ्घीयता कार्यान्वयनमा रहेकाले सबैको सकारात्मक सहयोगमा यसलाई सफल बनाउँदै लानुपर्ने बताउनुभयो ।
अधिवेशनका क्रममा दुई जना पत्रकारलाई पुरस्कृत गर्नुका साथै दुई जनालाई सम्मान समेत गरिएको छ । अधिवेशनका क्रममा फोनिजमा आबद्ध अग्रज पत्रकारहरू अम्मर ध्वज लामा र बुद्ध योञ्जनलाई सम्मान गरिएको थियो भने मकवानपुरका पत्रकार कृष्ण सारू मगर, र धादिङकी सरिता श्रेष्ठलाई पुरस्कृत गरिएको छ । यसैगरी, प्रादेशिक अधिवेशन व्यवस्थापनमा सहयोग पुराएको भन्दै रामेछाप र मकवानपुर फोनिज जिल्ला समितिलाई पनि सम्मान गरिएको छ । भोलिसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।