हेटौंडा – नेकपा एमाले निकट अनेरास्ववियु बागमती प्रदेशको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण भोलि बुधबारबाट प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु बागमती प्रदेशको अध्यक्ष सन्तोष राना क्षेत्रीले मंसिर १४ गते र १५ गते हुने कार्यक्रममा प्रदेश कमिटीको शपथ ग्रहण, प्रदेश कार्यलय उद्घाटन र दुई दिन आवसीय प्रशिक्षण कार्यक्रममा हुने बताउनुभयो ।
उपत्यका बाहेकको १० जिल्लाबाट ६५ जना प्रदेश सदस्यहरु सहभागिता हुने उहाँको भनाई छ । अनेरास्ववियुको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल, एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, एमाले केन्द्रीय सदस्यहरु ईश्वरी रिजाल, माधव ढुंगेल, रचना खड्का लगाएतका नेताहरु आउने भएका छन् । पत्रकार सम्मेलनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, केन्द्रीय सदस्य आशिष अस्लामी, नितेस लामिछाने, अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेल, अनेरास्ववियु मकानपुरका उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिना, सहसचिव प्रमोद फुँयाल, दिनेश हुँमगाई लगायतको उपस्थिति रहेको थियो ।