मकवानपुर – चौतर्फि आलोचनाकै बिच बागमती प्रदेशमा चौथो पटक शुक्रबार मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शुक्रबार ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नु भएको छ । मन्त्रालय विभाजन गरेर मन्त्रीको संख्या बढाएको भन्दै चौतर्फी रुपमा आलोचना हुनुका साथै मन्त्रालय विभाजनलगायत विषयको औचित्य पुष्टि गर्न चुनौति दिँदै प्रतिपक्षी दलहरूले लगातार सदन अवरूद्ध गरिरहेको अवस्थामा मुख्यमन्त्री पाण्डेले आज चौथोपटक मन्त्रि र राज्यमन्त्रि थप गर्नुभएको हाे ।

मुख्यमन्त्री पाण्डेले आज नेपाली कांग्रेसको कोटाबाट भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपालीलाई नियुक्त गर्नु भएको हो । योसँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ जना फुल मन्त्री र ४ जना राज्यमन्त्री कूल संख्या १८ पुगेको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै पद र गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा सपथ गराउनु भएको हो ।
यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री हुनु भएको थियो । यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामा स्वास्थ्यमन्त्री हुनु भएको थियो ।
यस्तै, तेस्रो पटक भएको सरकार विस्तारका क्रमश श्रम रोजगार तथा यातायातमन्त्रीमा घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र कृषि तथा पशुन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङ नियुक्त हुनु भएको थियो । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप्दै मन्त्रालय संख्या ८ पु¥याउनु भएको प्रदेशमा अहिले मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालय टुक्र्याएर १४ पु¥याउनु भएको हो ।
