मकवानपुर – मकवानपुरमा आगामी मङ्सिर १८ गतेदेखि आयोजना हुने जिल्ला स्तरीय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर मङ्सिर १८ गते देखि २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक गरिएको हो ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना र जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा गत वैशाखमा आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो । पत्रकार सम्मेलनमा जिल्ला स्तरीय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको तथा प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले युवाहरूमा खेल भावनाको विकास र एकताबद्ध बनाउन, खेलकुद प्रति आकर्षित गरी स्वस्थ युवा जनशक्ति उत्पादनमा सहयोग गर्ने, खेल प्रतिभाको खोजी गर्ने, जिल्ला स्तरीय फुटबल टिम तयार गर्ने, खेलकुद गतिविधिलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले मकवानपुरका दश वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका बिच हुने जानकारी दिनुभयो । देशभरीमा जिल्ला समन्वय समितिले पहिलाेपटक सञ्चालन गर्न लागेकाे प्रतियोगिता सञ्चालनका लागि कुल ७ लाख ५८ हजार रुपैयाँ लाग्ने आयोजकले जनाइएको छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, मकवानपुर फुटबल संघका अध्यक्ष टिका लामा लगायतको सहभागिता थियो ।