मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्वेच्छिक अवकास रोज्ने १३ शिक्षकलाई सम्मानका साथ विदाई गरेको छ । उमेर हद र सेवा अवधिका हिसाबले अवकाश हुने उमेर पुगेका १३ जना २ महिला सहित १३ जना शिक्षकलाई गाउँपालिकाले स्वर्णिम अवकास योजना मार्फत नगदसहित अवकाश दिएको हो ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षता तथा जिल्ला शिक्षा समिति मकवानपुरका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा गाउँपालिकाले सोमबार बिशेष कार्यक्रमको आयोजना गरेर शिक्षक सम्मान तथा विदाई कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खुलालले मकवानपुर गाउँपालिकाले हरेक कामलाई योजनाबद्ध रुपमा अगाडी बढाएको बताउनुभयो । शिक्षक मिलान लगायत विभिन्न शैक्षिक क्षेत्रको सुधारका लागि यो कार्यक्रम महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले लामो समय शैक्षिक क्षेत्रमा विताउनुभएका शिक्षकहरुलाई कृयाशिल भईरहन तथा समाज सुधारमा कार्यमा लाग्न आग्रह समेत गर्नुभयो । समाजिक परिर्वतनका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले अवकास प्राप्त शिक्षकहरुलाई आफुले सिकेका र जानेका शिप ज्ञानलाई सकारात्मक तथा समाज सुधारका क्षेत्रमा खर्च गर्न आग्रह गर्नुभयो ।
अवकाश हुने उमेर पुगेका शिक्षकलाई अवकाश दिलाएर युवा पुस्ताका शिक्षकलाई विद्यालयमा प्रवेशको अवसर सिर्जना गर्ने गरी पालिकाले स्वैच्छिक अवकाशको योजना ल्याएको थियो । गाउँपालिकामा स्वेच्छिक अवकासका लागि १५ जनाले निवेदन दिएका मध्ये दुई जना शिक्षकले निवेदन फिर्ता लिएको र १३ जनालाई आज विदाई गरिएको हो । गाउँपालिकाले सेवा अवधि २ देखि ८ वर्ष माथि सम्मका १३ जना शिक्षकलाई स्वर्णिम अवकास योजना मार्फत करीब ४९ लाख रुपैया वितरण गरेको छ । जस अनुसार २ वर्ष सेवा अवधि बाँकी रहेका दुईजना शिक्षकलाई जनही २ लाख, ४ वर्ष सेवा अवधि बाँकी भएका ४ जना शिक्षकलाई जनही ३ लाख रुपैयाँ, ८ वर्ष सेवा अवधि बाँकी भएका ३ जना शिक्षकलाई जनही ४ लाख र ८ वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका ४ जना शिक्षकलाई पनि जनही ५ लाख रुपैयाँ दरले नगदसहित सम्मान गरेर बिदाइ गरेको हो । स्वैच्छिक अवकाश कार्यक्रमले गाउँपालिकाका विद्यालयमा शिक्षक दरबन्दी मिलानमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
अवकास रोज्ने शिक्षकहरुलाई प्रमुख अतिथिलगायत अतिथिहरुले दोसलला, प्रमाणपत्र तथा नगद सहित सम्मान गर्नुभएको थियो । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८÷७९ मा पहिलोपटक गाउँपालिकाले स्वैच्छिक अवकाश कार्यक्रम ल्याएको हो । सो अवसरमा मकवानपुरगढी गाउँपालिकामा रहेका ३९ वटा विद्यालयहरुलाई बालमैत्री निर्माणको प्रतिबद्धता समेत गराईएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, शिक्षा शाखा प्रमुख रामबहादुर घलान, वडा अध्यक्षहरु जितबहादुर घिमिरे, भागवत घिमिरेलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, स्रोत व्यक्तिहरुलगायतको सहभागिता थियो ।