काठमाडौँ । कुनै बेला वैदेशिक रोजगारमा जाने तयारी गर्नुभएका मुक्तिनाथ उप्रेती वर्षौँ अघिदेखि उन्नत तरकारी खेती गरेर आफ्नै थातथलोमै सन्तुष्ट मात्र होइन, वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि उदाहरणीय समेत बन्नुभएको छ । राजधानीको ललितकला क्याम्पसबाट सङ्गीत पढेर गाउँ फर्कनुभएका उहाँ अहिले आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहनुभएको छ र मनग्गे कमाइ पनि गरिरहनुभएको छ ।
सात रोपनी जग्गाबाट व्यावसायिक कृषि सुरु गर्नुभएका उप्रेतीको कृषि उद्यम अहिले २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ६ वर्षअघि तरकारी खेती सुरु गर्दा दोब्बर तेब्बर आम्दानी लिन सफल भएपछि उत्साहित हुनुभएका उप्रेती अहिले थाहा नगरपालिकाकै एक अब्बल तरकारी उत्पादक हुनुभएको छ ।
सङ्गीत पढेर कलाकारितामा पनि प्रवेश गर्नुभएका उहाँ त्यस बेला वैदेशिक रोजगारमा जाने रहरमा लहडिनुभएको थियो । तर, अन्ततः उहाँ मोडिनुभयो कृषि उद्यमतर्फ । बिदेशिन खुट्टा उचालिसक्नुभएका उप्रेतीले जब कृषि कर्म सुरु गर्नुभयो, तब देखि नै उहाँले आर्थिक उपार्जनका लागि अरू केही सोच्नु परेन । त्यसो त उहाँ कृषि उद्यममा समर्पित हुनुमा कुनै चामत्कारिक घटना छैन । छ त आफ्नै पिताको अन्तर भावना र त्यसलाई बुझ्ने सुसंस्कृत सन्तानको मन अनि कर्मप्रतिको समर्पण ।

सङ्गीत कलाको ज्ञान र वैदेशिक रोजगारको सपना देखिसक्नुभएका तपाई साँच्चै कसरी मोडिनुभयो त कृषि उद्यमतर्फ भने जिज्ञासामा उहाँ भन्नुहुन्छ– “तिमीहरू पढेलेखेका, घुमेका, सूचना प्रविधि बुझ्न सक्ने भएकाले नयाँ ढङ्गले यहाँ केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने बुबाको ढाडस् र उत्तम खेती, मध्यम व्यापार, निम्न चाकरी भनेर बेला बेला बुबाले नै सुनाउने गर्नुभएको एउटा शाश्वत भनाइले मलाई मेरै पिता पुर्खाले आफ्नो पसिनाले सिञ्चित गरेको भूमिमै समर्पित बनायो । सायद भूगोल, मौसमी अवस्था, कृषि प्रविधिको गहिरो रुचि, व्यावसायिक सोच र दृढ इच्छा शक्तिको संयोगले हुनुपर्छ मैले व्यावसायिक कृषि सुरु गरेपछि अरू केही सोच्नु परेन ।”
समर्पित भएर कृषि गर्नेलाई अहिले धेरै कुराले सजिलो पनि हुँदै गएको उहाँको भनाई छ, “अहिले कृषि ऋण पनि सहज छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पनि मैले सहयोग प्राप्त गरेको छु । स्थानीय स्तरमा पनि तालिमहरू प्राप्त गर्ने र प्राविधिक सहयोगहरू प्राप्त गर्न सहज छ । ट्याक्टर लगायतका आधुनिक कृषि औजारको प्रयोगले पहिला जस्तो शारीरिक श्रम गर्नुपर्ने अवस्था पनि धेरै कम भएको छ । विद्युतिकरणले डाँडासम्म पनि मोटर चलाएर सिँचाई गर्न सकिने भएको छ । अझ खास कुरा त यातायातको पहुँचले ढुवानी सहज भएको मात्र होइन घरघरमै, बारी बारीमै कृषि उपज बिक्री भइरहेको छ । ठुला बजारसम्म पनि सहज पहुँच भएकाले भाउ पनि प्रायः सन्तोषजनक नै पाइराखिएको अवस्था छ ।”
पुर्वाधारहरुको विकासले कृषि व्यवसाय कृषि उद्योगका रुपमा विकास हुँदै छ पनि भनिन्छ तर कृषिमा चुनौती पनि त होला नि ? ती चाहिँ के के हुन् ? भन्नुहुन्छ, “ चुनौती भनेको चाहिँ बेला–बखत बजारमा पटक्कै माल नगइदिने अवस्था हो । त्यस्तो बेलामा गएको मालको पनि पैसा उठाउन गाह्रो हुने । कैले भने सोच अनुसारको भाउ नआइदिने । यी समस्याहरू आइरहन्छन् । तर यो व्यावसायिक कृषिमा आत्तिहाल्नुपर्ने अवस्था चाहिँ होइन । यस्ता चुनौतीको सामना गर्नुपरे पनि फेरी बेलाबखत अचम्म लाग्ने गरी भाउ पनि पाउँछौँ । तर मलाई के लाग्छ भने यस्ता समस्याका बेला चाहिँ सरकारले सहयोग गरोस् ।”
आफ्नो २५ रोपनीको तरकारी खेतीको दुई सिजनमा १५ लाख जति लगानी हुने र वर्षभरिमा सबै खर्च कटाएर न्यूनतम १५–१६ लाख रुपैयाँ बचत हुने गरेको उप्रेती बताउनुहुन्छ । दिगो ढङ्गले धैर्यपूर्वक लागेको अवस्थामा एक सिजनको क्षति अरू थुप्रै सिजनहरूले सजिलै बिर्साइदिन्छ, उप्रेतीको अनुभव सुनाउनुहुन्छ ।
गत वर्षको स्मरण गदै उहाँ भन्नुहुन्छ, “सुरुको लकडाउनले गर्दा ६–७ लाख घाटा भएको थियो तर पोहोर साल १२–१३ रोपनी जग्गामा लगाइएको अकबरे खुर्सानी २२ लाख जतिको बेचे, जसबाट ५–६ लाख खर्च कटाएर १५ लाख जति चैँ खुद नाफा भएको थियो । अब यसपालिको तरकारीबाट केही नभए पनि १२–१३ लाख र राम्रो भएमा २० देखि ३० लाखसम्म आम्दानी हुने अनुमान गरेको छु ।”

२०५४ सालमा प्रथम श्रेणीमा एस.एल.सी. पास गरे पनि के हुन्छ र यस्तै भकारो सोहोर्ने, भारी बोक्न, किसानी काम गर्ने उस्तै त हो नि भनेर मानिसहरूले भन्ने गरेको उप्रेती स्मरण गर्नुहुन्छ, “खासमा मैले आफ्नो पढाइको तिक्षणता कै कारण कृषिका तौर तरिका, प्रविधि र तालिममा प्राप्त ज्ञानलाई राम्रोसँग बुझ्न र सदुपयोग गर्न बल पुगेको हो, धैर्य त ममा छँदै थियो ।”
व्यावसायिक रुपमा तपाई सफल त हुनुहुन्छ नै आर्थिक उपार्जनका लागि तपाईँले अन्य केही सोच्नुपरेको छैन पनि भन्नुभयो, तर तपाईँका सन्तुष्टिका अरू कुरा पनि केही छन् कि भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “वैदेशिक रोजगारबाट फर्किएका साथीहरूले पनि मजा त कृषि मै हुँदो रहेछ । तैँले त यही नै सधैँ काम लाग्ने, दिगो हुने काम गरिछस् भन्दा मलाई सन्तोष लाग्छ अनि थप हौसला र ऊर्जा प्राप्त हुन्छ ।” कृषिमा दृढ निश्चयी उप्रेतीको भनाई छ, “प्रगति त्यति सहज चाहिँ छैन तर असम्भव भने होइन । गर्दै जानुहोस् एक दिन यस्तो आउँछ तपाइले कल्पनै नगरेको खुसीयाली र सफलता प्राप्त हुन्छ ।” अनलाइन रेडियाे नेपालबाट साभार