काठमाडौँ । राष्ट्रपति विद्यादेबी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरुसहित विशिष्ट पदाधिकारीहरुले विदाई गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
राष्ट्रपति सी विमानस्थल पुग्नुहुँदा पञ्चकन्यासहित बालबालिकाहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा फहराएका थिए भने विभिन्न सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । त्यस क्रममा राष्ट्रपति सीले अभिबादन फर्काउनुभएको थियो ।
त्यसअघि राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जानुहुँदा सडकका किनारमा सर्वसाधारण, विद्यार्थी र राष्ट्रसेवक कर्मचारीहरुले दुबै देशका झण्डा फहराएका थिए ।