मकवानपुर – बागमती प्रदेशको नवौं (हिउँदे) अधिवेशन आव्हान गर्न मन्त्रिपरिषद्ले प्रदेश प्रमुख समक्ष सिफरिस गरेको छ । बागमती प्रदेशको बुधबार बसको मन्त्रिपरिषद् बैठकले असोज २४ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सभाको आठौं (वर्षे) अधिवेशन गत भदौं ११ गते अन्त्य भएको थियो । प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै शाक्य नेतृत्वको सरकार पूर्णरुपमा अल्पमत परिसकेको छ । सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । ‘विश्वासको मत लिने वा सदनलाई कसरी अगाडि बढाउने अब सभामुखको हातमा हुने भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने विषयमा भने कुनै पनि छलफल नभएको बताउनुभयो ।
बागमती प्रदेशमा हाल १०९ सांसद छन् । सभामुखसहित ५६ सांसद रहेको एमालेको तर्फबाट एकल बहुमतको सरकार बनाउनुभएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ सांसदमात्र छन् । सरकार टिकाउन ५५ सांसद चाहिन्छ । साना दलसँगको सहकार्यमा शाक्यको पद जोगिने सम्भावना छैन । प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेस २२ र नेकपा (एस) १३ गरी र स्वतन्त्र सांसद १ गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ । सदनमा ३ मत रहेको विवेकशील साझा पार्टीले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।