मकवानपुर – मकवानपुरको कमवानपुरगढी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ५० लाख बराबरको विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ । गाउँपालिकाले किशानलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्ने उदेश्यका साथ ५० प्रतिशत अनुदानमा करीब ५० लाख बराबरको विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले कल्टिभेटरसहितको ठूलो ट्रयाक्टर २ वटा, मिनि टिलर २७ वटा, मकै छोडाउने मेसिन २० वटा र हाते मकै रोप्ने मेसिन २० वटा वितरण गरेको हो । कार्यक्रमबाट ५ वटा कृषि सहकारी, १६ वटा कृषक समूह र १२ वटा कृषि फर्मसहित कृषकहरु लाभान्वित भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उक्त कृषियन्त्र तथा उपकरण खरिदमा कुल ४९ लाख ८५ हजार ९सय ९७ रुपैँया लागत मध्ये गाउँपालिकाको ५० प्रतिशत र बाँकी ५० प्रतिशत कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीको लगानी रहेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, टीकाप्रसाद दाहाललगायतको सहभागिता थियो ।
किसानलाई “किसान क्रेडिट कार्ड”

कृषि क्षेत्रमा आकर्षित गर्न गाउँपालिकाले किसानलाई लक्षित गरी ‘किसान क्रेडिट कार्ड’ वितरण समेत सुरु गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ गाउँपािलकाले क्रेडिट कार्ड लागु गरिएको गाउँपलिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभयो ।
पहुँच कम पुगेका साना किसानका लागि बिनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच चौपक्षीय सम्झौता गरेर किशानलाई न्युनतम ब्याजमा दुईलाख सम्म प्राप्त गर्न सक्ने बताईएको छ । गाउँपालिकाले पहिलो चरणमा आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत उक्त रकम प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनुभयो । किशान कार्ड मार्फत उनीहरूले बिनाधितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने उहाँले बताउनुभयो ।