file photo

काठमाडौं – घरेलु फूटबल प्रतियोगिताको शीर्ष प्रतियोगिता ए डिभिजन लिगको ४४ औं संस्करण असोज ३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फूटबल संघ एन्फा र १४ ए डिभिजन क्लबका प्रतिनिधिहरुसँगको बैठकले यस सिजनको लिग असोजमा सुरु गर्ने निर्णय गरेको हो । एन्फाले यस पटक ६ महिनासम्म लिग गराउने योजना बनाएको छ ।
गतवर्ष कोरोना महामारीका कारण एन्फाले लीग संचालन गर्न सकेको थिएन । लिगका लागि खेलाडी दर्ता भने साउन १६ गतेदेखि मात्र खुला गर्ने एन्फाको तयारी छ । लीगका लागि क्लबले खेलाडी अनुबन्धको तयारी यसअघि नै गर्दै आईरहेका छन् । तर साफ च्याम्पियनसिपको तयारीमा रहेका राष्ट्रिय खेलाडी भने ए डिभिजन लिगका लागि तत्काल उपलब्ध हुने छैनन् । उनीहरु साफ च्याम्पियनसिप पछि मात्र क्लबबाट खेल्न पाउने छन् । साफ च्याम्पियनसिप अगष्टको अन्तिम साता सुरु गरेर सेप्टेम्बर पहिलो सातामा समापन गर्ने दक्षिण एसियाली फुटबल संघ साफको तयारी छ । यस विषयमा साफले केहि दिनमा औपचारिक निर्णय गर्ने जनाएको छ । पछिल्लो संस्करणको ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।