भारतमा ओटीटी प्लेटफर्मको नयाँ खेल सुरु भएको छ । यो खेलमा बलिउडका चर्चित नायक–नायिकाहरुलाई आकर्षित गर्नका लागि ओटीटी संचालकहरुले महंगो रकम खर्च गरिरहेका छन् । पहिलो चरणको लकडाउनपछि भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार भएको छ । योसँगै भारतका धेरै दर्शकहरु ओटीटीमा जोडिएका पनि छन् । बलिउड चलचित्रका नायकहरुलाई महंगो पारिश्रमिकमा गरिएको अफरले यो कुराको पुष्टी गर्दछ कि, ओटीटीका संचालकहरु आफ्नो बजार अब दर्शकको ठूलो संख्यामाझ विस्तार गर्न चाहन्छन् ।नायक अजय देवगणले एक वेव सिरिजका लागि १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको खबर सार्वजनिक भैसकेको छ । यस भन्दा अगाडि नायक अक्षय कुमारलाई पनि ९० करोड पारिश्रमिकको अफर गरिएको थियो ।
यस्तै, कलाकार मनोज बाजपेयीलाई पनि वेव सिरिजका लागि २० देखि २२ करोडको अफर आइसकेको छ । ओटीटी संचालकहरुले ओटीटीमा उत्कृष्ट काम गरेका कलाकारसँग बलिउड कलाकारको पनि आवश्यकता महशुश गर्न थालेका छन् । कतिपय विश्लेषकहरु अब ओटीटीमा पनि बलिउडमा जस्तै स्टारको क्रेज सुरु हुने विश्लेषण गरिरहेका छन् भने अर्कोतिर ओटीटी बलिउड भन्दा फरक रहेको तर्क पनि हुने गरेको छ । ओटीटी संचालकहरु प्छिल्लो समय आफ्नै सिरिजहरु सार्वजनिक गरेर दर्शकको संख्या बढाउन चाहन्छन् । यस्तै, बलिउडका कलाकारहरुलाई राख्दा चाडै दर्शकको संख्या बढ्ने उनीहरुको विश्लेषण छ । बलिउडका धेरै कलाकारहरुले टीभीको क्रेजलाई नै नयाँ उचाईमा पुर्याएका थिए । अमिताभ बच्चन, सलमान खान, आमिर खान जस्ता कलाकारले होस्ट गर्ने शोहरुले दर्शकको माया पाइरहेका छन् । अब, ओटीटीमा पनि यस्तै क्रेज देखिने अपेक्षा गरिएको छ । दर्शकले चाडै नै शाहिद कपुर, माधुरी दिक्षित, जुही चावला, आयशा शुल्का, सोनाक्षी सिन्हा जस्ता कलाकारको सिरिज ओटीटीमा हेर्न पाउनेछन् ।