मकवानपुर – मकवानपुरका स्थानीय तहहरुको लगानीमा सञ्चालन गर्ने तयारी गरिएको सरुवा रोग अस्पताल सञ्चालनका लागि बजेट र जग्गा उपलब्ध गराउने सन्दर्भमा आज छलफल भएको छ । अस्पताल सञ्चालनका लागि गठित परामर्श समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जग्गा प्राप्ती र आगामी बजेटमा रकम छुट्याउने विषयमा छलफल भएको हो ।
बैठकले अस्पताल सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकालाई जग्गा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै बैठकले स्थानीय तहहरुले आगामी निती तथा कार्यक्रममा अस्पताल सञ्चालनका बारेमा सम्बोधन गर्न र बजेट विनियोजन गर्न आग्रह गर्ने निर्णय समेत गरेको समितिका संयोजक खुलालले जानकारी दिनुभयो । बैठकले जग्गा प्राप्तीका लागि उक्त तीनवटा स्थानीय तहलाई अनुरोध गर्ने र आगामी बजेटमा कम्तीमा प्रतयेक गाउँपालिकाले १५ लाखका दरले बजेट विनियोजन गर्न पत्राचार मार्फत अनुरोध गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा समितिका सदस्यहरु थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदर हुमाँगाई र बकैया गाउँपालकाका अध्यक्ष दामोदर खनालको उपस्थिती थियो । यस अघि समतिका संयोजक खुलालले अस्पताल संचालनका सन्दर्भमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मकवानपुरका निजी क्षेत्र एवम् सहकारीसंग छलफल गरिसक्नुभएको छ ।