मकवानपुर– मकवानपुरमा सरुवा रोग अस्पताल सञ्चालनका सन्दर्भमा सरोकारवालासंग छलफल सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् अस्पताल सञ्चालनको प्रारम्भिक कार्य अगाडि बढाउन गठीत समितिका संयोजक रघुनाथ खुलालले सोमबार परामर्श गर्नुभएको हो । यसअघी उहाँले आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिठानका पदाधिकारीसंग अस्पताल सञ्चालनका विषायमा छलफल गर्नुभएकाे थियाे ।
सदरमुकाम हेटौँडामा विशेषज्ञसहितको “स्थानीय तह सरुवा रोग अस्पताल” सञ्चालन गर्ने सन्दर्भमा उहाँले आज मकवानपुरका निजी क्षेत्र, सहकारी, उद्योग प्रतिष्ठान, गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग प्रारम्भीक छलफल गर्नुभएको छ । उहाँले जिल्लामा सरुवा रोग अस्पताल आवश्यक रहेको हुँदा जिल्लाका १० वटै स्थानीय तह, प्रदेश सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी संस्थालगायतको सहकार्यमा अस्पताल सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले अहिलेको माहामारीमा हामीले खेप्नु परेको समस्याबाट पाठ सिक्दै यसलाई अभियानका रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।
सो क्रममा प्यावसन मकवानपुरका कार्याबाहक अध्यक्ष बिनोद सुवेदीले सरकारसंग सहकार्य गरेर अगाडी बढ्दा राम्रो हुने र यसमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले यसको दिगोपनाका लागि पनि सरकारद्धारा नै सञ्चालन हुनुपर्ने बताउनुभयो । यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले सबैको अपनत्वमा सरकारी क्षेत्रबाट नै अस्पताल सञ्चालन हुनुपर्ने तथा आवश्यक सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले जिल्लामा रहेका ३१४ वटा सामुदायिक वनबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले अस्पताल सञ्चालन आवश्यक रहेको तर यस्को स्थाईत्वका लागि संघ र प्रदेश सरकारसंग सहकार्य गर्न सहकारी क्षेत्र तयार रहेको बताउनुभयो । उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले दीर्घकालिन रुपमा निजी क्षेत्रले सहयोग गर्न अप्ठ्यारो हुने हुँदा सबैको अपनत्वमा सरकारले नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कष्ण धितालले सरकारले लागत यकिन गरेर निजी क्षेत्रलाई आव्हान गर्ने हो भने अस्पताल सञ्चालनका लागि रकम जुट्ने बताउनुभयो । उहाँले अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाबाट संरचना निर्माण एवम् आजश्यक सामग्री सहयोग उपलब्ध हुन सक्ने बताउनुभयो । यस्तै उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले सबैको सकारात्मक सोँचबाट कार्य सफल हुने बताउनुभयो । उहाँले उद्योग क्षेत्रबाट सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको सहभागिता थियो ।