काठमाडौं – आर्थिक वर्ष २०७८/७९ को आय व्ययको अनुमानित विवरण बजेट आज सार्वजनिक (प्रस्तुत) हुँदैछ । प्रतिनिधिसभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो । आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्नुत गर्नुहुने कार्यक्रम छ ।
हिजो अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभयो । सर्वेक्षणमा चालू आर्थिक वर्ष २०७७/०७८ मा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कम हुने देखिएको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको कोरोना संक्रमणले गर्दा अर्थतन्त्र प्रभावित भएकाले आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नपुग्ने बताउनु भएको हो । सरकारले बजेट मार्फत चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर कोरोनाको प्रभाव बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । आर्थिक संकटाका बावजुद पनि मुद्रास्फिति सिमा भित्र रहेको, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति सुविधा जनक रहेको अर्थमन्त्रीले बताउनुभयो । लकडाउनपछि भी आकारमा सुधार हुँदै गएको अर्थतन्त्रमा २०७८ सालको सुरुवातसँगै फैलिन सुरु गरेको कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा पुनः जोखिम बढाएको मन्त्री पौडेलले बताउनुभयो ।