हेटौंडा–  विभिन्न जिल्लाको भ्रमणमा निस्किएको जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको टोलीलाई शनिबार मकवानपुरमा स्वागत गरिएको छ । जिसस सुर्खेतका प्रमुख छविलाल सिग्देल सहितको अवलोकन भ्रमण टोली टोलीको सम्मानमा जिसस मकवानपुरले स्वागत एवं छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा जिसस प्रमुख खुलालले आफ्ले गरेका काम तथा अनुभवका बारेमा जानकारी दिनुभएको थियो । उहाँले जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले सोहि अनुसारको काम गर्दै आएको बताउनुभएको थियो । प्रमुख खुलालले जिल्ला समन्वय समितिसंग आफ्नै कुनै कार्यक्रम नभए पनि काम गर्ने ईच्छा हुँदा काम खोज्न कहिँ जान नपर्ने बताउनुभएको थियो । उहाँले संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गर्दै अगाडी बढेको र सोहि अनुसार बढ्दा धेरै कामहरु गर्न सकेको अनुभव सुनाउनुभएको थियो ।

छलफलका क्रममा सुर्खेतका प्रमुख सिग्देलले भ्रमणको मुख्य उद्देश्य अनुभव साटासाट गर्नु भएको बताउनुभयो । उहाँले जिससलाई कर्णली प्रदेश र ३ नम्बर प्रदेश सरकारले फरक तरीकाले बुझेको बताउनुभयो । कर्णली प्रदेशको राजधानी रहेको सुर्खेतमा जिससको भुमिका गौण रहेको बताउनुभएको थियो । ३ नम्बर प्रदेशले गरेको व्यवहारको उहाँले प्रशंसा समेत गर्नुभएको थियो । छलफल जिससको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत विकासलगायतमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, गणेश कुमारी श्रेष्ट तथा जिसस सुर्खेतकी उपप्रमुख देवी भट्टराईलगायत सबै सदस्यहरुको सहभागिता रहेको थियो ।