काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभयो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, विभिन्न संवैधानिक अङ्गका प्रमुखहरू, विभिन्न दलका नेताहरू, नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा प्रतिनिधिहरू र उच्चपदस्थ पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि तोक्नु भएको समय सीमाभित्र दलहरूले दाबी पेस नगरेकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) अनुसार संसद्को ठुलो दलको नेताको हैसियतमा बिहीबारे राती प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रीहरू नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रिपरिषद्मा यसअघि कै मन्त्रीहरूले निरन्तरता पाउनुभएको छ । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेल र मन्त्रीहरूलाई शपथ गराउनुभयो । समारोहमा प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीहरूलाई शपथ गराउनुभयो ।