काठमाडौँ– चालु आर्थिक वर्षको नौ महिनामा नेपालको कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १ हजार १६ अर्ब ६३ करोड पुगेको छ । नेपाल राष्ट्र बैकले नौ महिनाको कारोबार को समीक्षा प्रतिवेदन जारी गर्दै चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको जनाएको छ ।
नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई .११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो भने आयात ७.५ प्रतिशतले घटेको थियो । निर्यात गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), पस्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूर सञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको नेपाल राष्ट्र बैकले जनाएको छ ।