हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकाले अक्सिजन सहितको १२ बेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ । मनहरी–८, सिमपानीमा गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारको लागि अस्पताल संचालनमा ल्याएको हो ।
गाउँपालिकामा संक्रमितको संख्या बढेको र स्वास्थ्यमा समस्या भएका संक्रमितको उपचार गर्नको लागि अक्सिजन सहितको कोभिड अस्पताल संचालन ल्याईएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । ३० बेड सम्म अस्पताल संचालन गर्न सकिने व्यवस्थापन भए पनि हाल गाउँपालिकाले १२ बेडको अस्पताल संचालनमा ल्याएको अध्यक्ष उप्रेतीले बताउनुभयो । उनले भनेः यसअघिको पहिलो चरणको कोरोना संक्रमणमा हामीले २४ बेडको आइसोलेसन संचालन गरेका थियौ । आजबाट १२ बेडको अस्पताल संचालनमा ल्यायौ, १२ बेड खरीदको तयारी भईरहेको छ । अस्पतालमा ३० बेडको सम्म संचालन गर्न सक्छौ ।

अध्यक्ष उप्रेती अनुसार अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भेन्टिलेटर सहितको तयारी गरिएको छ । भेन्टिलेटरको लागि बागमती प्रदेश सरकारसंग सहकार्य भईरहेको अध्यक्ष उप्रेतीको भनाई छ । मनहरी गाउँपालिकामा हालसम्म २ सय ६० जनामा कोरोना पुष्टि भएकामा २ सय ११ जना निको भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । उनका अनुसार मनहरीमा हालसम कोरोनाको कारण २ जनाको ज्यान गएको छ । मनहरीमा आजको दिनमा ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि मनहरी गाउँपालिकाले यसरी सूचना जारी गरेर काम समेत गरेको छ ।