मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ७६औं बोर्ड बैठक आईतबार बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हरेक महिना बस्ने नियमित बोर्ड बैठक आईतबार बसेको हो ।

बैठकले प्रदेश शु–सासन केन्द्रको आयोजना तथा जिसस मकवानपुरको व्यवस्थापनमा हुने क्षमता अभिबृद्धि तालिममा सक्रिय सहभागीता जनाउने निर्णय गरेको छ । बैठकमा जिसस प्रमुख खुलालले आगामी वैशाख १६ र १७ गते ईन्द्रसरोवरको मार्खुमा आयोजना हुने तालिमका बारेमा जानकारी दिनुहुँदै तालिममा प्रदेशका ५ वटा जिससका पदाधिकारीहरुको सहभागिता रहने समेत जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकले सहयोगापेक्षि सडक मानवहरुको उद्धार तथा व्यवस्थापनका लागि सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ । जिसस मकवानपुरको पहलमा देशमै पहिलो सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरिसकिएको सन्दर्भमा सहयेगापेक्षि सडक मानवहरुको उद्धार तथा व्यवस्थापनको लागि मानव सेवा आश्रमलाई सवारी साधनको आवश्यकता रहेकाले बागमती प्रदेश सरकारसंग एक थान सवारी साधन माग गरि उपलव्ध गराउने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिसस मकवानपुरले चालु आवमा संचालन गर्ने विभिन्न तालिमहरु इसै महिना भित्रमा सम्पन्न गरि सक्ने तथा केहि कार्यक्रमहरु संशोधनका लागि कार्यालयलाई सहमति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा जिसस सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, चित्रबहादुर बलामी, बुद्धिबहादुर मोक्तान, सिता अधिकारी, सानुकान्छि स्याङ्तान, सरिता विश्वकर्मा, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो ।