काठमाडौं- दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयबाट संयुक्तरुपमा स्वीच थिचेर उदघाटन गर्नुुभएको छ ।
त्यस अवसरमा दुई प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाईनको प्रारम्भबाट नेपाल र भारतबीचको सम्बन्धमा अझै सकारात्मक प्रभाव परेको र यो दुई देशबीचको सम्बन्धको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जलमार्ग र पर्यटन लगायतका अन्य परियोजनालाई पनि संयुक्त रुपमा अघि बढाईने विश्वास व्यक्त गर्नुभयो । पेट्रोलियम पाइपलाइन समयमै सम्पन्न गर्न भारत सरकारबाट प्राप्त सहयोगका लागि प्रधानमन्त्री ओलीले धन्यबाद पनि व्यक्त गर्नुभयो ।
यसैगरी भारतका प्रधानमन्त्री मोदीले यस प्रकारको संयुक्त प्रयासबाट द्धिपक्षीय परियोजनाहरुमा प्रगति हुँदै जाने र यसबाट दुई देशका जनता लाभान्वित भएको बताउनुभयो ।