आफ्नो पार्टी सहमतिको पालना गर्न प्रतिबद्ध : महासचिव चन्द

काठमाडौँ– सरकार र नेत्रविक्रम चन्दको नेकपा विप्लव समूहबीच तीन बुँदे सहमतिमा आज हस्ताक्षर भएको छ । दुवै पक्षका वार्ता टोलीबीच हिजो भएको सहमतिमा आज काठमाडौँको राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द विप्लवको उपस्थितिमा सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका प्रमुख एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले हस्ताक्षर गर्नुभयो ।

दुई पक्षबीच, नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टी माथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको छ ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र दीपक चलाउने रहनु भएको थियो । हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह शान्तिपूर्ण राजनीतिको मूल धारमा आएपछि नेपाल सबै प्रकारका हिंसात्मक द्वन्द्वहरूको अन्त्य गरी पूर्ण शान्ति र स्थिरता सहितको समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शान्ति स्थापनाका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायले समेत महत्त्वका साथ मूल्याङ्कन गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपालको समूह पार्टी फुटाउने, संसद्मा सुविधाजनक अवस्थामा रहेको सरकारलाई ढलाउने र देशलाई फेरी अस्थिरतातर्फ धकेल्ने खेलमा लागेको बताउनुहुँदै त्यसलाई असफल पार्न आफु लागिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले हालसम्म कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पार्नुहुँदै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले दिगो शान्ति र स्थिरता सहितको समृद्ध नेपाल निर्माण गर्ने आकाङ्क्षाका साथ तीन बुँदे सहमति भएको बताउनुभयो । महासचिव चन्दले आफ्नो पार्टी सहमतिको पालना गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै अनावश्यक शङ्का नगर्न समेत आग्रह गर्नुभयो । यसअघि आजै काठमाडौँ आइपुग्नु भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट्नु भएको थियो ।