file photo

निर्वाचन आयोगले निर्वाचनको लागि आवश्यक समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एकरएक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । निर्वाचन आयोगसँग सम्बन्धित विद्यमान ऐन, नियम, निर्देशिका लगायतमा भएको व्यवस्था अनुसारको कार्यसम्पादन गर्ने क्रममा स्थानीय स्तरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्ने लगायतका कार्यहरू सञ्चालन गर्न र आयोगबाट तोकिएका कार्यहरूमा आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो ।
निर्वाचन सम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सो सरहका एक जना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गरिएको जनाइएको छ । साथै स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत अनुरोध गरिएको छ । साथै प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्य विवरण समेत स्वीकृत गरेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।