बलिउड नायक बरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, बरुण र नताशाले जनवरी २४ मा अलिबाग रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका लागि कार्ड समेत वितरण भैसकेको भारतीय मिडियाको दाबी छ ।
आफ्ना आफन्त र साथीभाइको उपस्थितीमा बरुण र नताशाले बिहे गर्न लागेका हुन् । यसका लागि अलिबागको सम्पूर्ण रिसोर्टहरु बुक गरिएको छ । बरुण र नताशाको बिहे समारोह जनवरी २२, २३ र २४ तारिखमा हुनेछ । कोरोना भाइरसका कारण यसको सुरक्षा मापदण्डलाई पछ्याउँदै बरुण र उनको परिवारले करिब ५० जना नजिकका मानिसहरुलाई मात्र बिहेमा निमन्त्रणा गरेको छ । बिहेको करिब एक महिनापछि मुम्बइमा बिहे भोजको आयोजना गरिनेछ । बरुण र उनका पिता डेभिड धवन पञ्जाबी शैलीको बिहे रुचाउँछन् । तर, कोरोनाका कारण उनीहरुको यो योजना भने संभव हुन सकेन । बरुण र नताशाले बिहेको औपचारिक घोषणा भने गरेका छैनन् । तर, उनीहरुको बिहेको तयारी भने धुमधामसँग चलिरहेको भारतीय मिडियाको दाबी छ ।