मकवानपुर– मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरसंग अनुमति माग गरेको छ । बालमैत्री गाउँपालिका घोषणाका लागि सम्पूर्ण ३९ वटै सुचकहरु पुरा भएको भन्दै गाउँपालिकाले अनुगमन गरेर अनुमति प्रदान गर्न माग गरेको हो ।

बिहीबार गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पुडासैनीलगायतको टोलीले जिसस प्रमुख रघुनाथ खुलाल समक्ष गाउँपालिकाले हालसम्म बालमैत्री घोषणाका लागि गरेका कामहरुको विवरण बुझाउँदै अनुगमन गरेर घोषणाको अनुमति प्रदान गर्न माग गर्नुभएको हो । साे क्रममा जिसस प्रमुख खुलालले गाउँपालिकालाई बालमैत्री घोषणाका लागि जिससबाट आगामी २९ गतेबाट अनुगमन गर्ने र आवश्यक सुझाव सहित घाेषणाकाे अनुमति प्रदान गरिने बताउनुभयाे । उहाँले जिल्लासभाबाटै २०७८ सम्ममा मकवानपुरका सबै स्थानीय तहहरुलाई बालमैत्री पालिका घोषणा गर्ने निर्णय अनुसार यस अघि नेपालकै पहिलो बालमैत्री गाउँपालिका मनहरी भएको र अब बकैया गाउँपालिका पनि घोषणाको चरणमा रहेको भन्दै धन्यवाद दिनुभयो । उहाँले छिट्टै अनुगमन गरेर अनुमति प्रदान गर्ने समेत बताउनुभयाे ।
बालमैत्री घोषणाका लागि सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष खनालले बताउनुभएको छ । ८ हजार ७०२ बालक र ८ हजार ७५८ गरी कुल १७ हजार ४६० बालबालिका रहेको गाउँपालिकाले बिगत तीन वर्षदेखि बालमैत्री स्थानीय तह घोषणा गर्न आवश्यक ३९ सूचकहरु पूरा गर्ने गरी कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले बालबचाउ, बालसंरक्षण, बालविकास र अर्थपूर्ण बालसहभागिताजस्ता बालअधिकारका सवाललाई स्थानीय तहको विभिन्न कार्ययोजना प्रक्रिया र व्यवहारमा लागू गर्न बनेको शासकीय पद्दति नै बालमैत्री स्थानीय शासन हो । सो पद्दति अनुसार बालबालिकाको अधिकार स्थापीत गर्ने देखि समग्र ३९ वटै सुचक पुरा गरेर घोषणाको चरणमा पुगेको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताउनुभयो । हरेक वडामा विभिन्न बाल समूह, वडागतरुपमा वडास्तरको बाल सञ्जाल तथा गाउँपालिकास्तरको बाल सञ्जाललगायत गाउँपालिका तथा वडामा बालमैत्री स्थानीय शासन समिति र बालअधिकार समिति गठन गरेर काम गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकामा हालसम्म एक सय १३ वटा बाल समूह गठन तथा बाल सञ्जाल गठन गरेर एक हजार सात सय ३२ जना बालबालिकालाई समेटिएको उहाँले बताउनुभयो । करीब ३७ प्रतिशत बालबालिका रहेको बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन नीति लागू गरी बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि बालबालिकाको वस्तुगत स्थितिको बारेमा तथ्यांक संकलन गरेर ३९ सूचकको आधारमा अध्ययन तथा विश्लेषण गरी घोषणाको चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुडासैनीले बताउनुभयो ।