नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । गएको २४ घण्टामा चार हजार चार सय ९९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको हो । शुक्रबार थपिएका सङ्क्रमितमध्ये दुई हजार सात सय २० जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार छ सय ६८ जना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या एक लाख पाँच हजार चार सय ८८ पुगेको छ । अब नेपालमा ४६ हजार छ सय ९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।