मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागिे मौजदात कोषको रकम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ । आज बसेको जिसस बोर्ड बैठकले विभिन्न स्थानीय तहहरुबाट माग भई आएका आयोजना सञ्चालनका लागि उपलब्ध गराउने मौजदात कोष अनुदान स्वीकृत गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले जिल्लाका विभिन्न स्थानीय तहबाट माग भई आए अनुसारको स्वीकृति प्रदान गरिएको हो । तत्कालिन जिल्ला विकास समितिमा खर्च गरेर बाँकी रहेको रकमबाट मौज्जात कोष संचालन निर्देशिका–२०७५ बमोजिक स्थानीय तहको सिफारीस बमोजिम विभिन्न योजनाहरुका लागि प्रकृया पुरा गरि आएका योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।
बैठकले प्रकृया पुरा गरेर आएका मध्ये कैलाश गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि २ करोड, मनहरी गाउँपालिकाको तीनवटा वडा कार्यालय भवन निर्माणका लागि एक करोड, भीमफेदी गाउँपालिकाको प्रशासनीक भवन निर्माणका लागि १ करोड रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै हेटौंडा–७ को वडा कार्यालय भवन निर्माणका लागि लागतको ६० प्रतिशत र हेटौंडा–१८ को हर्नामाडि स्वास्य चौकि निर्माणका लागि कार्यविधिले तोके अनुसारको रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
मौजदात कोष निर्देशिमा साविक जिविसवाट प्रारम्भ भई निर्माण कार्य अधुरो रहेको योजनाहरु, स्थानीय तहका प्रशासनिक भवन तथा मर्मत संभार, स्थानीयतहका वडा कार्यालय भवनहरु, सामुदायिक विद्यालय भवन निर्माण, प्रशुति केन्द्र, स्वास्थ चौकी, प्राथमिक स्वास्थ्य केन्द्र भवन तथा खानेपानी सम्बन्धी पुर्वाधार निर्माण सम्बन्धी योजनाहरुमा रकम खर्च गर्न मिल्ने प्रावधान रहेको छ । सोहि बमोजिम चालु आर्थिक वर्षका लागि जिल्ला सभाबाट पारित भएको रकम मध्ये आज बसेकाे वोर्ड वैठकले योजनाहरु सञ्चालनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले योजनाको लगत ईष्टमिट, नक्सा, जग्गा सम्बन्धी आवश्यक डकुमेन्टका आधारमा भवन निर्माणका लागि ६० प्रतिशत र खानेपानि आयोेजनाका लागि ७५ प्रतिशत तथा बाँकी रकम स्थानीयतहले व्योहोर्ने गरि सम्झौता गर्ने गरिएको उहाँले बताउनुभयो । मौजदात कोषबाट यस अघि जिल्लाका विभिन्न स्थानीय तहहरुलाई करीब ११ करोड रकम उपलब्ध गराईसकिएको छ । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोख्रेल, सदस्यहरु देशराज रिमाल, सिता अधिकारी, बुद्धि बहादुर मोक्तान, सरिता विश्वकर्मा, सानुकान्छि स्याङतानलगायतको सहभागिता थियो ।