हेटौंडा– नेपालमा आज थप आठ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप आठ सय ८५ जना मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५३ हजार आठ सय ९८ पुगेको जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७३ हजार ३ सय ९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।