कोरोनाविरुद्ध एकीकृत कार्ययोजना बनाएर अगाडी बढ्न जिसस प्रमुख खुलालको आग्रह

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोनाविरुद्ध एकीकृत कार्ययोजना बनाएर अगाडी बढ्न सुझाव दिनुभएको छ । हेटौंडा उपमहानगरपालिका–१७ मा शनिबार कोरोना रोकथामका विषयमा स्थानीय सरोकारवालासंगको छलफलका क्रममा उहाँले कोरोना रोकथामका लागि कार्ययोजना बनाएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

प्रमुख खुलालले सबैको सकृयतामा मात्र कोरोनालाई रोक्न सकिने हुँदा समुदायलाई सकृय बनाउन र सचेतना जगाउने काममा लाग्न सबैलाई आग्रह गर्नुभयो । कोरोना संक्रमण रोकथामका लागि नागरिकको सहयोगसंगै सचेतना जरुरी रहेको उहाँको भनाई थियो । उहाँले सरकारले निर्धारण गरेको स्वास्थय मापदण्डको पालना गर्न, खानपान र आहारबिहारमा सुधार ल्याउन, नियमित व्यायाम गर्न, संक्रमितलाई हुने दुव्र्यवहार निरुत्साहित गर्ने कार्यमा सबैलाई सकृय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले नागरिकको सहयोग र सचेतनाबाट नै कोरोना रोक्न सकिने हुँदा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा एकिकृत भएर प्रभावकारी रुपमा काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागिहरुले समुदायमा सचेतनाको अझै कमी रहेकाले तीन तहको सहकारले समुदायलाई सचेत बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने, रोजगारीका कार्यक्रमहरु ल्याएर माहामारीका कारण प्रभावित अर्थ व्यवस्थालाई सहज बनाउनु पर्ने, व्यवस्थित उपाय अपनाएर शैक्षिक क्षेत्र सुचारु गर्नुपर्ने, युवा रोजगारीका कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा १७ नम्बर वडा अध्यक्ष भैरबबहादुर राईले वडामा हालसम्म १२ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । यस्तै अहिले वडामा कन्ट्रयाक्ट ट्रेसिङमा परेका ३५ जना होम क्वारेन्टाईमा रहेको बताउनुभयो । उहाँले कोरोना संक्रमितलाई समुदायले गर्ने दुव्र्यवहारलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाले समुदायलाई विभाजन गर्ने कुरालाई ध्यानमा राख्दै मनोपरामर्श लगायतका कार्यक्रम संचालन गर्न समेत जरुरी रहेको बताउनुभयो । कार्यक्रममा १७ नम्बर वडाका निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, टोल विकास संस्थाका प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।