मकवानपुर– लगातारको वर्षाका कारण मकवानपुरसहित देशका विभिन्न स्थानमा पहिरो जान थालेको छ । लगातार परेको पानीको कारण हिजो मंगलबार पहिरो जाँदा मकवानपुरको राक्सिराङ गाउँपालिमा १७ वटा बाख्रा मरेका छन् ।
रक्सिराङ गाउँपालिका वडा नम्बर ६ को सिलिंगेमा पहिरोले बगाएर १७ वटा बाख्रा मरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । स्थानीय सुकबहादुर चेपाङको १७ वटा बाख्रा जंगलमा चराएर घर ल्याउँदै गर्दा बाटैमा पहिरो गएर बगाएको हो । बाख्रा भन्दा केही पछाडी भएकोले सुकबहादुरलाई भने केही भएको छैन । गाउँपालिकाको अन्य स्थानमा पनि पहिरो गइरहेको हुनसक्ने र यकिन जानकारी नआएको गाउँपालिका अध्यक्ष मल्ले बताउनुभयो । जिल्लाकै बिकट गाउँपालिकाका रुपमा रहेको राक्सिराङमा लगातार पानी परिरहेका कारण प्रहरी समेत जान सकेको छैन् ।