मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त छ । कोरोना भाईरसको संक्रमित हुने र निधन हुनेको संख्या बढिरहेको छ भने उपचारपछि निको भएकाहरुको संख्या पनि बढेको छ । यस भाइरसका विरुद्ध लड्न संसार एकजुट भएको छ । कोरोना भाइरसबाट बच्न संसारका विभिन्न देशले लकडाउन, निषेधाज्ञालगायत अन्य विशेष सावधानी अपनाउँदै आएका छन् । तर पछिल्लो समय नेपाल लगायत देशहरुमा यी भन्दा पनि स्वास्थ्य समवधानी अपनाउने कुरामा जोड दिएको पाईन्छ ।
नेपाल पनि तीनै तहका सरकारहरु यस भाइरस विरुद्धमा सशक्त भएर एकसाथ युद्धस्तरमा लागिरहेका छन् । खासगरी संक्रमित पहिचान गर्ने, क्वारेन्टाइनमा बस्ने÷बसाउने र आइसोलेसनमा राख्नको लागि देशव्यापी क्वारेन्टाइन र आइसोलसन शैया बनाउने कार्य भैरहेको छ । यस भाइरस बिरुद्ध अहिले स्थानीय तहहरु अझै सक्रिय भएर लागेका छन् । यस्तै लकडाउनले जीविकोपार्जनका माध्यम प्रभावित बनेकाले भोकमरी हुन नदिन राहत बितरणमा पनि स्थानीय तहले उत्तिकै जिम्मेवारीपूर्वक कार्य गरेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिकाले पनि आफ्नो स्थानीय तहमा नजिकको सरकारको प्रत्याभुति गराउन र संक्रमण बढ्न नदिन तथा संक्रमण भईसकेकाहरुका लागि व्यवस्थित रुपमा काम गरेको छ । कोरोना विरुद्ध गाउँपालिकाले समुदायमा जनचेतना अभिबृद्धि गर्ने, राहत वितरण, क्वारेन्टाईन सञ्चालन देखि मिनी आइसीयु सहितको कोरोना अस्पताल सञ्चालन गरेको छ । कोरोना महामारी विरुद्ध सामथ्र्यले भ्याएसम्म प्रयास गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुहुन्छ ।

मिनी आइसीयुसहितको कोरोना अस्पताल सञ्चालन

समुदायमा कोरोना संक्रमणको दर बढ्दै गएपछि मकवानपुरको मनहरी गाउँपालिकाले आइसीयुसहितको कोरोना अस्पताल सञ्चालन गरेको छ । मनहरी–८ सिम्पानीमा रहेको आइसोलेशन वार्डलाई स्तरउन्नती गर्दै गाउँपालिकाले २४ शैयाकोे कोरोना विषेश अस्पतालको रुपमा स्थापना गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको १० लाख अनुदान र बागमती प्रदेश सरकारबाट १० लाख अनुदानमा मिनी आसीयुसहितको अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । संक्रमित विरामीहरुलाई थप उपचारको लागि भरतपुर, काठमाडौँलगायतका अस्पतालहरुमा पठाउनुपर्ने बाध्यता रहेकोले गाउँपालिकामै अस्पताल स्थापना गरिएको उहाँले बताउनुभयो ।
एमबीबीएस डाक्टरसहितको मिनि आइसियु संचालनको लागि काम भइरहेको उहाँले बताउनुभयो । “हामीले पहिले देखिनै अस्पताल सञ्चालन गरिरहेका छौं, अहिले प्राप्त अनुदानबाट केहि उपकरण थप गरेर त्यसलाई थप व्यवस्थित गर्ने तयारी गरेका हौं ।” स्वास्थ्य मन्त्रालयले ५ शैयाको अस्पताल स्थापना गर्नु अनुदान दिएको भएपनि गाउँपालिकाले २४ शैयाको अस्पताल सञ्चालन गरिरहेको छ, त्यसलाई थप व्यवस्थित गर्ने तयारी गरेको ंउहाँले बताउनुभयो ।
कोरोना विषेश अस्पतालका लागि संयोजक ज्योतिराज लुइटेलले अस्पतालका लागि आवश्यक केही सामानहरु खरिद प्रकृयामा रहेको बताउनुभयो । अस्पताल स्थापना भएर उपचार सेवा भने सुचारु भइरहेको र थप सामग्री खरिद गरेर मीनी आइसीयु सहितको अस्पताल सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो । अस्पतालकालागि सामग्री खरिद गर्ने प्रकृया समेत सुरु भइसकेको उहाँले बताउनुभयो । ‘हामीसंग अक्सिजनको व्यवस्था भइसकेको छ, अब मिनि आइसियुलगायत संचालको लागि सामान खरिदको काम भइरहेको छ ।’ – उहाँले भन्नुभयो ।

तीनवटा आइसोलेसन केन्द्र सञ्चालन

कोरोना संक्रमणको संख्या बढ्दै गएपछि गाउँपालिकाले तीन वटा आइसोलेसन सञ्चालन गरेको छ । गाउँपालिकाले सर्वसाधारणका लागि दुई स्थानमा र स्वास्थ्यकर्मीहरुका लागि छुट्टै आइसोलेसन केन्द्र सञ्चालन गरेको छ । वडा नम्बर ८ सिमपानी र र वडा नम्बर ७ रमनटारमा सर्वसाधारणका लागि र वडा नम्बर ७ रमौलीमा स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन सञ्चालन गरेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो ।
वडा नम्वर ८ सिम्पानीस्थित आइशोलेशनलाई कोरोना विषेश अस्पतालको रुपमा स्तरउन्नती गरिएको छ । सो अस्पतालमा अहिले ५ जना महिला र १३ जना पुरुष गरी कूल १८ जना उपचाररत छन् । त्यसैगरी वडा नम्बर ७, रमन्टारस्थित आइसोलेशनमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् । यसैगरि चिकित्सकको निगरानीमा होम आइसोलेशनमा ४ जना महिला र ६ जना पुरुष छन् । अहिलेसम्म गाउँपालिकामा ४८ जनामा संक्रमण पुष्टि भएको र २४ जना निको भइसकेको र २ जनाको मृत्यु भएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन

गाउँपालिकाले वठा नम्बर ७ मा सञ्चालन गरेको आइसोलेसनमा स्वास्थ्यकर्मीलाई बस्ने व्यवस्था गरेको छ । नियमित काम गर्ने स्वास्थ्यकर्मीबाट अरुमा संक्रमण नफैलीयोस भन्ने उदेश्यले सिफ्टमा काम गराउने गरेको छ । आइसोलेसन तथा स्वास्थ्य कार्यालयमा काम गर्ने स्वास्थ्यकर्मीलाई १४ दिन सम्म नियमित रुपमा काम गरेपछि छुट्टै आइसोलेसनमा राख्ने गरेको उहाँले बताउनुभयो । उनिहरुलाई ७ दिन आइसोलेसनमा राखेर पुनः काममा लगाउने गरेको उहाँले बताउनुभयो । त्यस्तै स्वास्थ्यकर्मीको मनोवल बढाउन प्रोत्साहन भत्तालगायतको व्यवस्था समेत गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । जोखिम भत्ता दिएपछि स्वास्थ्यकर्मीहरु पनि उत्साहित भएर काम गरिरहेको उहाँले बताउनुभयो ।

आइसोलेसनमा पौष्टिक युक्त खानेकुरा

गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनहरुमा पोषण युक्त खानाको व्यवस्था गरिएको छ । गाउँपालिकाले कर्मचारीको व्यवस्था गरेर आँफै मेस सञ्चालन गरेको छ । “पहिले हामीले बाहिरबाट खानेकुरा मगाउने गरेका थियौं , त्यबाट खर्च बढी हुने र भने अनुसारको खाने कुरा पनि नपाईने समस्या आएपछि हामीले आँफै मेस सञ्चालन गरेका हौं । संक्रमित विरामीहरुलाई पौष्टिक युत्त खाना तथा खाजा त्यही तयार पार्ने गरिएको छ ।” अध्यक्ष उप्रैतीले भन्नुभयो ।
आइसोलेसनमा बिहान ६ बजे कागती चिया, ७ बजे चना, अण्डा र दूध, ११ बजे खाना, दिउँसो २ बजे दूध चिया, ३ बजे खाजा (फलफूलसहितको) र बेलुका ८ बजे खानाको व्यवस्था गरिएको छ भने, हप्तामा २ पटक माछामासुको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै सुगर, प्रेसर, दमलगायतका विरामीहरुलाई उनीहरुको रोजाई र स्वास्थ्य लाभ मिल्ने खानाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

आइसोलेसनको व्यवस्थापनले बिरामी संतुष्ट

गाउँपालिकाले सञ्चालन गरेको आईसोलेसनको व्यवस्थापनले त्याहाँ बस्ने बिरामी पनि सन्तुष्ट छन् । “हामीलाई घरमा भन्दा आनन्द छ, चाहे अनुसारको पौष्टिक खानेकुरा पाएका छौं, नियमित रुपमा चिकित्सकको निगरानीमा छौं, गाउँपालिका प्रमुख पनि नियमित रुपमा आएर हौसला बढाउनु भएको छ, हामीलाई त घरमा भन्दा आनन्द छ । ”एकजना बिरामीले भन्नुभयो ।
आइसोलेसनमा बिहान ६ बजे कागती चिया, ७ बजे चना, अण्डा र दूध, ११ बजे खाना, दिउँसो २ बजे दूध चिया, ३ बजे खाजा (फलफूलसहितको) र बेलुका ८ बजे खानाको व्यवस्था गरिएको छ भने, हप्तामा २ पटक माछामासु समेत खान दिनुभएको छ । स्वास्थ्यकर्मीहरुले पनि माया गर्नुभएको छ । हामी संतुष्ट छौं, र चाडै निको समेत हुने छौं, उहाँले भन्नुभयो ।

गाउँटोलमा सचेतना मुलक कार्यक्रम

गाउँपालिकाले वडा वडामा कोरोना नियन्त्रणका लागि सचेतना मुलक कार्यक्रम समेत गर्ने गरेको छ । चिकित्सकद्वारा आइसोलेसन र होम आइसोलेसनमा बसेका विरामीहरुको नियमित स्वास्थ्य जाँच र परामर्श गर्ने गरिएको छ । यस्तै गाउँपालिका अध्यक्ष उप्रेतीलगायत जनप्रतिनिधि टोल टोलमै पुगेरसंक्रमितको हौसला बढाउने काम समेत गर्ने गर्नुभएको छ । साथै संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि होस् भन्ने उदेश्यले समय समयमा भिटामिन सी र मल्टिभिटामिन समेत खुवाउने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो ।

सामथ्र्यले भ्याएसम्म प्रयास गरेका छौं– अध्यक्ष उप्रेती

नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७६ तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि न्यूनतम मापदण्ड, २०७६ र कोभिड–१९ को कारण प्रभावित क्षेत्रहरुको लागि राहत सुविधा प्रदान गर्ने कार्ययोजना, २०७६ तयार गरेको छ । सोहि अनुसार हामीले पनि काम नेपाल सरकारका मापदण्ड र कार्ययोजना अनुसार कार्य गर्दै आफूलाई सक्रिय राख्दै प्रभावकारी रुपमा कार्य गरिरहेको उहाँले बताउनुभयो । “मापदण्डमा उल्लेख भए अनुसार सामथ्र्यले भ्याएसम्म कोरोना रोकथाम र नियन्त्रणको प्रयास गरेका छौं ।” अध्यक्ष उप्रेतीले भन्नुभयो ।