मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले मनहरी गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन सेन्टरमा खाद्यान्न सहयोग गरेको छ । फाउण्डेशनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुुनाथ खुलालले मंगलबार गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

फाउण्डेशनले भाद्र १५ देखि “हुनेले दिएर जाऔं,नहुनेले लिएर जाऔं” अभियान अन्तरगत संकलित खाद्यान्नबाट आइसोलेसनमा सहयोग उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि जारी लकडाउन, निशेधाज्ञाका कारण दैनिक छाक बसेका श्रमजिवी, कामदार, सिमान्तकृत वर्गहरुलाई लक्षित गरेर संचालन गरेको अभियान अन्तरगत संकलित खाद्यान्नबाट आइसोलेसनमा सहयोग उपलब्ध गराईएको फाउण्डेशनका अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

फाउण्डेशनले लकडाउन खुकुलो भए पश्चात दाद्यआदान प्रदान कार्यक्रमको स्वरुप परिर्वतन गरेर निरन्तरता दिने र संकलित खाद्यान्नहरु जिल्लाका आईसोलेसन, क्वारानटाईन, वृद्धा आश्रमहरुमा आदान प्रदान गर्ने निर्णय गरे अनुसार मनहरी आइसोलेसनमा सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । फाउडेशनका तर्फबाट गाउँपालिकालाई चामल ७ वोरा, दाल १ वोरा, नुन १ वोरा, चिउरा १ वोरा, स्वाविन २ वोरा र तेल १ कार्टुन सहयोग गरिएकोहो । सो क्रममा फाउण्डेशनका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख खुलालले आइसोलेसन केन्द्रको बारेमा जानकारी समेत लिनुभएको थियो । सहयोग ग्रहण गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले फाउण्डेशन मकवानपुर परिवारलाई धन्यवाद दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका सचिव आशाकाजी श्रेष्ठलगायत गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको समेत उपस्थिती थियो ।











