हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको उहाँले जानकारी दिनुभयाे । यस्तै पछिल्लो २४ घण्टामा नौ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३३ हजार आठ सय ८२ जना पुगेको उहाँले जानकारी दिनुभयो । अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।